भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व

फुङ्लिङ, । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे पनि यस वर्ष भने सो समुदायले धुमधामका साथ मनाएका हुन् । परापूर्वकालदेखि यस गाउँमा मात्र मनाइँदै आएको पर्वमा देश विदेशमा रहेको वालुङ समुदायका आफ्ना आफन्त फुटुक पर्व मनाउन ओलाङचुङ गोलामा पुगेको थियो ।

पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिस जम्मा भएको थियो । पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेको थियो । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले जानकारी दिए। यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विश्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य प्रदर्शन गर्दछन् ।

यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गर्दछ ।  लामाको नृत्य हेर्न साथै आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बसेको शेर्पाले बताए । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि नरोकिएको स्थानीयको भनाइ छ । फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सीमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउँने गरेको छ ।

ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपमा मनाइँदै आएको स्थानीयको भनाइ रहेको छ । चीन र नेपालको सीमानाका नजिकै रहेको ओलाङ्चुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ । यस बस्तीमा वालुङ समुदाको ५२ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा १० घरपरिवार छन् । ओलाङचुङगोला तीन हजार २०० मिटर उचाइमा पर्दछ भने २४ किलोमिटरमा नेपाल र चीनको नाका टिप्ताला नाका पर्दछ ।

 


Thali Mobile Pvt.Ltd.