आजदेखि ४ लाख ३० हजार जनाले कोरोना खोप लगाउदै, केही भईहाले सरकार जिम्मेवार नहुने

आजदेखि ४ लाख ३० हजार जनाले कोरोना खोप लगाउदै, केही भईहाले सरकार जिम्मेवार नहुने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आजबाट सुरु हुँदै छ । अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई आजबाट पहिलो चरणमा खोप दिइने भएको हो ।

विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने जनाइएको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप आज देखि नेपालमा लगाउन लागिएको हो । नेपाल सरकारले खोप लगाउँदा कुनै भवितव्य भएमा त्यसको जिम्मेवार आफू नहुने बताइसकेको छ ।

त्यसैले खोप लगाउने व्यक्तिले भवितव्यमा परे स्वयं व्यक्ति जिम्मेवार हुने छ । कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन । नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य उपचारको व्यवस्था भने सरकारले नै गर्ने छ ।

खोप लगाउने तरिका
कोभिसिल्ड खोप बायाँ पाखुरामा लगाइन्छ । १८ वर्ष मुनिकाले यो खोप लगाउन हुँदैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई यो खोप लगाउन मिल्दैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

साइडइफेक्ट
कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट देखिन सक्ने चिकित्सकले बताएका छन् । पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुर्याइसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.