आज रातिदेखि प्रचारप्रसार निषेध, के भन्छन् पाैडेल र नेम्वाङ ?

आज रातिदेखि प्रचारप्रसार निषेध, के भन्छन् पाैडेल र नेम्वाङ ?

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गतेसम्म प्रचारप्रसार निषेध गरिएको छ। निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएको जनाएको छ । योसंगै निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले चुनाव प्रचार गर्न नपाउने भएका हुन् ।

२०७९ माघ १६ गतेको निर्णय अनुसार फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्नआग्रह गरेको छ । राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङ प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सांसद मतदाता रहेका छन्।

लोकतन्त्रको रक्षाका लागि के भन्छन् नेता पौडेल
आठ दलको गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा नै आफूले प्रमुख दायित्व ठानेको बताएका छन् ।

फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा उनले प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य हुने बताएका हुन ।

पूर्वउपप्रधानमन्त्री पौडेलले लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे ।

देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि लड्छुः नेम्वाङ
जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि भएको एमाले नेता सुवास नेम्वाङले बताए । सबैभन्दा ठूलो प्राथमिकता लोकतन्त्र र जनताको अधिकार प्राप्ती रहेको जिकिर उनको छ ।

अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो उनले भने । समयअनुरूप चुनौती बदलिँदै र जटिल बन्दै गएको प्रति खवरदारी गर्दै प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही काम गर्नुपर्ने चुनौती आएको नेम्वाङले बताए ।

राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वोच्च र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने पद भएकाले त्यसको विशेष महत्त्वका साथ भूमिका र जिम्मेवारी बहन गर्ने नेम्वाङले बताए ।

 


Thali Mobile Pvt.Ltd.