काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार (नयाँ वर्ष) मनाउँदै छन् । माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले यो पर्व मनाउने गर्दछन् । आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ भने गाई वर्ष पूरा भई बाघ वर्ष सुरु हुन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको प्रदेशमा यो पर्व मनाउने गरिन्छ । सरकार आज सार्वननिक बिदा दिएको छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुखलगायत शीर्षनेताहरुले सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।
सोनाम ल्होछारबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने उनीहरुले विश्वास व्यक्त गरेका छन् । भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको ठहर गर्दै तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरणसमेत गरे ।
सोनाम ल्होछारले सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य मापदण्डको पालना गरी सोनाम ल्होछार पर्व मनाउन सबैमा आह्वान गरेका छन् । पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभ कामना व्यक्त गरेका छन् ।
