भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

उपनिवेश बनेको छेपाडीमा शिक्षाको ज्वाजल्यमान ज्योती यसरी बल्योः बजिरसिंह विश्वकर्मा

उपनिवेश बनेको छेपाडीमा शिक्षाको ज्वाजल्यमान ज्योती यसरी बल्योः बजिरसिंह विश्वकर्मा

वि.स. २०२९ साल भदौको पहिलो साता जिशिकाबाट खामबन्दी पत्र छेपाडीमा आयो । सो पत्रमा एक जना अभिभावक सहित भदौ मसान्तभित्र जि.शि.का दैलेखमा सम्पर्क गर्नु भनिएको थियो । छेपाडीबासीलाई के खोज्छस् कानो आखाँ भने जस्तै भयो । २०२९ भदौ २९ गते शिक्षक गोपीराम बडुवाल, कोषाध्यक्ष कर्ण बडुवाल र शिक्षाप्रेमी जया विद्यालयको अस्थायी अनुमति लिन दैलेख जानुभयो । रामगाड खोला तर्दा बुबा जया कामीको बगेर मृत्यु भयो । वि.स. २०३२ साल पौष १ गते सम्पूर्ण छेपाडीबासीको उपस्थितिमा हर्षोल्लासकासाथ पशुपति प्राविको स्थायी स्वीकृतिपत्र हस्तान्त्रण गरियो । त्यो दिन सौच्चिकै ऐतिहासिक दिन थियो र छेपाडीबासीका लागि त्यो दिन नयाँ युगको सुरुवात थियो ।

पृष्ठभूमि
तिलेपाटा गाउँ पञ्चायतबाट पहिलो प्रधानपञ्च चुनिए पछि छेपाडीका प्रशुराम बडुवालले उपनिवेशको रुपमा रहेको आफेनो जन्म थलो छेपाडीलाई मुक्त गर्ने सोच बनाए । गाउँलाई शासकहरूको पञ्जाबाट मुक्त गराउने एउटै उपाय भनेको शिक्षा नै हो, त्यसैले यहाँ शिक्षाको विकासमा कसरी गर्न सकिन्छ भन्नेमा निकै घोत्लिए र आफूलाई त्यसैमा समर्पित गर्न निर लागे ।

गाउँमा शिक्षाका लागि अग्रजहरुलाई खटाउने तर्फ केन्द्रीत भए । स्थानीय कर्ण बडुवाल, गोकुले बडुवाल, मेहेरे बडुवाल (धामी), जल बडुवाल, मने बडुवाल, मानबिरे बडुवाल लगायतकालाई जम्मा गरी दैलेख दुल्लु निवासी लिलाराम खत्रीले वि.सं. २०१४ सालतिर साधारण लेखपढ गराउन थाले । त्यसपछि वि.स. २०१६ सालतिर जम्बुकाँध निवासी लिलाराम बुढाले करिब सात महिना पढाएर भर्पाई तथा तमसुक लेख्न सक्ने बनाए । प्रशुराम बडुवाल स्वयंम आफु गाउँदेखि टाढा दुल्लु खेतगाउँका कालुराम गिरीको घरमा गएर केही समय त्यही बसी अध्ययन गरे ।

पञ्चायती व्यवस्था लागु भएपछि तिलेपाटा गाउँपञ्चायतको प्रथम प्रधानपञ्चमा चुनिए लगतै छेपाडीमा शिक्षाको विकासमा अग्रसर भएर छेपाडी जस्तो अशिक्षित ठाउँका बालबालिकाहरूलाई एक ठाउँमा जम्मा गरी पढाउन थाले । यत्तिकै पढाएर सम्भव नभएपछि गाउँमा स्कुल भवन बनाउने सोच बनाए । त्यसका लागि स्थानको रुपमा पातल रोजे । स्कुल भवन बनाउन गाउँबासीलाई कन्भिन्स गरेर श्रमदान गर्न लगाए ।

साथ दिनेहरूमा कर्ण बडुवाल, ज्योति बडुवाल, लालसिंह बडुवाल, बालाराम कठायत, गोकर्ण बडुवाल, गोरे कामी, बिर्खे कामी, जया कामी लगायतका अग्रज मानिसको योगदान महत्वपूर्ण रहेको छ । सानकोइराल भिरपाखोलाई सम्याएर स्कुल भवनका लागि श्रमदानबाटै ठाउँ तयार गराउन पहल गरे । ठाउँ त बनाए तर ती दुबै ठाउँहरू गाउँभन्दा टाढा भयो भनेकाले गाउँको सिरानमा रहेको हुलाकी घर अर्थात हुलाक डाँडामा स्कुल भवन बनाउन उपयुक्त देखिएकाले त्यहि डाँडामा भवन बनाउन लगाए ।

सिंहासैनबाट दोस्रो चुनाब जितेपछि प्रधानपञ्च चुनिएका नन्दाराम शाहीको राय अनुसार हुलाक डाँडामा स्कुल बनाउने निर्णय भयो । स्कुल बनाएपछि प्रशुराम बडुवालले करिब एक वर्ष निःशुल्क पढाए । शिक्षाक्षेत्रमा पहिलो पाइला चाल्नेमा उनको योगदान यस क्षेत्रमा अति ठुलो रहन गयो । त्यसपछि वि.स. २०१९ सालतिर तिलेपाटा अन्तर्गत बेरूपाटा निवासी कुश्माखर जैसीले ६ महिना र म बजिर सिंह विश्वकर्मा, गोपीराम बडुवाल, नौलासिंह बडुवाल, प्रदिपे कामी र प्रज बडुवाल लगायतलाई पढाए ।

वि.स. २०२१ सालमा दुल्लु निवासी रामनारायण गिरीले सानकोइरालमा पढाए त्यो पढाइको शुल्क मासिक ४ रुपयाँ तिर्नु पथ्र्यो । वि.स. २०२४ सालमा चामुण्डा तिलुखाना निवासी अमरबहादुर शाहीले श्री पशुपति ने.रा.प्रा स्कुल छेपाडी नामकरण गरी पढाउन थालियो । वि.स. २०२५ सालमा तिलुखाना गडाखा निवासी नारायणजङ्ग शाहीले पढाए । त्यही वर्ष हुलाक डाँडामा जनश्रमदानबाट एक कोठाको एक तले भवन निर्माण गरिसकेको थियो ।

त्यो भवन निर्माण गर्ने मिस्त्रीहरू घन्नाम कामी, खुड्के कामी, गोरे कामी, जबरे कामी र सहयोगीहरुमा गंगा बडुवाल (पूर्छा), धन्नाम बडुवाल (मुखिया), मोतिराम बडुवाल नाउला र जोगीराम कठायत (राईढुंगा)को उल्लेखनीय योगदान रहेको छ । वि.स. २०२७ सालमा सिंहासैन निवासी मिमबहादुर शाही र सिंगौडी कालापाटा निवासी दिलबहादुर शाहीले पढाए । वि.स. २०२८ सालदेखि २०२९ साल जेष्ठ सम्म छेपाडी निवासी गोपीराम बडुवालले पढाए । उनीहरुको मासिक तलब अभिभावकहरूबाटै दिने गरिएको थियो ।

नपुग रकम गाउँपञ्चायतका प्रतिनिधिहरूले मालपोत असुल गर्न आउदा घरकर भनेर रू २ तिर्नु पथ्र्यो, त्यसैबाट बाकी रहेको रकम पूर्ति गरिन्थ्यो । वि.स. २०२९ साल भदौ महिनाको पहिलो साता जिल्ला शिक्षा कार्यालयबाट खामबन्दी पत्र गाउँमा आइपुग्यो । सो पत्रमा भनिएको थियो पशुपति ने.रा.प्रा स्कुलको शिक्षक, कोषाध्यक्ष मध्य एक जना अभिभावक सहित भदौ मसान्तभित्र जि.शि.का दैलेखमा सम्पर्क गर्नु । छेपाडीका सम्पूर्ण बासिन्दाहरूलाई के खोज्छस् कानो आखाँ भने जस्तै भयो ।

२०२९ भदौ २९ गतेका दिन शिक्षक गोपीराम बडुवाल, कोषाध्यक्ष तथा सिंहासैनका उप–प्रधानपञ्च कर्ण बडुवाल र शिक्षाप्रेमी जया कामी गरी तीन जना विद्यालयको अस्थायी अनुमति लिन दैलेख गए । उत्त पत्र अनुसार अनुमति लिन जादा रामघाटमा ठूलो दुर्घटना भयो । त्यतिखेर पुल–पुलेसाको कुनै बन्दोबस्त थिएन । खोला तरेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको थियो । खोला तराउने मानिसले पैसा लिएर पाखुरा समातेर तराउने काम गर्थे ।

पैसाको लालचमा तराउने मानिसद्वय जम्बुकाँध निवासी बनाडा टोलका एकजनाले उप–प्रधानपञ्च कर्ण बडुवालको पाखुरा समाते र अर्काले मेरा बुबा जया कामीको पाखुरा समाते र खोला तराउन लाग्दा कर्ण बडुवाललाई पल्लो किनारा पु¥याउन सफल भए भने मेरा बुबा जया कामीलाई तराउने मान्छेले उल्लाभेलमा तराउन नसकी रामघाट खोलाले बगाएर मृत्यु भयो । गोपीराम बडुवाल भने वारी किनारामा नै बसेकाले बच्न सफल भए । तीनजनामा २ जना बाँचेको र मेरा बुबा जया कामीको निधन भयो । गाउँको मुहार फेर्न भविष्य उज्जल पार्न शिक्षाका खातिर बुबाको बलिदानीले अजम्वरी बने भने, गाउँबासीले एक असल व्यक्ति गुमाउन पुग्यो ।

वि.स. २०३०–२०३१ साल भदौ पहिलो हप्तासम्म म बजिरसिंह विश्वकर्माले कक्षा ३ देखि ५ कक्षा सम्म पढाउथ्य भने १ देखि २ कक्षासम्म प्रसादे बडुवालले पढाउने काम गरे । विना तलब आफ्नो घरको माना खाएर निःशुल्क सेवा गरेका थियौं । मासिक प्रतिवेदन भने जिल्ला शिक्षा कार्यालयमा निरन्तर पेश गरेका थियौं । २०३१ साल भदौमा पुनः तिलुखाना निवासी अम्मरबहादुर शाही आएर पठन पाठन अगाडि बढाए । स्थायी स्वीकृतिका लागि निरन्तर माग गर्दै गयौं । रू १०० आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालयबाट अस्थायी स्वीकृति पत्र विसं २०२९ सालमा प्राप्त भयो ।

२०३१ साल माघ महिना देखि असारसम्म २ कोठे भवन निर्माण सम्पन्न गरियो । सो भवनको ज्याला रु ९०० (बान्ना चिन्ने र दार काट्ने) कर्ण कामी, जैराम कामी र मन कामीलाई दिइयो । त्यसैगरी विशाला गा.वि.स.को धनकोट स्थित सुकानेमा पत्थर काट्ने म बजिरसिंह विश्वकर्मा, भग कामी, कालु कामी, जोरासिंह बडुवाल, सिंहासैन गाविस ८ चौला निवासी धनरूप कामीलाई रू ९०० दिने निर्णय गरेर जम्मा रू १८०० मा २ कोठे भवन निर्माण गरियो । भवन बनाउन स्थानीय प्रत्येक घरबाट रू २० आर्थिक सहयोग सङ्कलन गरिएको थियो ।

श्री पशुपति प्राथमिक विद्यालय छेपाडीको स्थायी स्वीकृति
वि.स. २०३२ साल पौष १ गते (डिसेम्बर १६–१९७५ ई.स.) प्राविनि डबलबहादुर विसी जिशिका दैलेखबाट विद्यालय निरीक्षण गर्न आउँदा उनको सम्मानमा बन्दुक पड्काएर स्वागत गरियो । सबै छेपाडीबासीको उपस्थिति रहेको त्यो हर्षोल्लास वातावरणमा स्थायी स्वीकृतिपत्र हस्तान्त्रण गरियो । त्यो दिन छेपाडीबासीका लागि नयाँ युगको सुरुवात भएको थियो । त्यो सौच्चिकै ऐतिहासिक दिन थियो । त्यो दिन मात्रै मैले बुझ्न पाए बुबा जया कामीको योगदान र बलिदानको दिन ।

प्रधानाध्यापक अम्वर बहादुर शाही र कोषाध्यक्ष प्रशुराम बडुवालले बुबाको योगदानको कदर सहित स्थानीयवासीलाई बधाई समेत दिएका थिए । वि.स. २०३२ साल देखि २०३७ सालसम्म विद्यालय चलाउनु कठिन संघर्ष थियो । वि.स. २०३३ सालको स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । त्यो चुनावमा म बजिरसिंह विश्वकर्मा सिंहासैनको उप–प्रधानपञ्चमा मनोनित भए । त्यसपछि अब मैले छेपाडीको मुहार फेर्नु पर्छ भन्ने आत्मैदेखि लागेर पशुपति प्रा.वि.को ५ कोठे भवन निर्माण गर्ने योजना अगाडि सारियो ।

सल्लाह गरेर अघि बढ्दा रू ३० का दरले गाउँबासीहरूबाट चन्दा संकलन गर्ने योजना बन्यो । रु ७०० मा भगे बडुवालको हुलाकडाँडाको ३ वटा गरा (कान्ला) खरिद गरी श्रमदानबाट भवन बनाउने ठाउँ बनायांै । जसमा वडा नं. २ को फापरगैरामा पत्थर निकाल्ने जिम्मा कर्ण बडुवालको थियो भने बान्ना (पर्खाल) लगाउने र काठ (दार) जम्मा गर्ने जिम्मा प्रशुराम बडुवाल र म बजिरसिंह विश्वकर्माको थियो । मिस्त्रीमा देवे कामी र कलबहादुर शाहीको जिम्मा थियो । त्यो कार्य २०३४ साल कार्तिक मंसिरबाट शुरू भएको थियो ।

२०३७ सालमा विद्यार्थीहरूको संख्या धेरै नभएकाले बस्ने कोठाहरू साना आकारका बनाएका थियौं । पछि विस्तारै विद्यार्थी संख्या बढेपछि पुनः भवन निर्माण गर्नु पर्ने टड्कारो आवश्यकता थपियो । रु ५० सहयोग सङ्कलन गरेर ६ कोठे भवन निर्माणमा जुट्यौं । गाउँबासीको पूर्ण सहयोग र समर्थनले वि.स. २०४१÷०४२ सालमा रु ३२००० अनुदानमा १०६ फिट लामो ६ कोठे भवन निर्माण सम्पन्न गरियो । त्यो भवनका मिस्त्रीहरूमा देबे कामी र लल्ते कामीको महत्वपूर्ण सहयोग रहेको थियो ।

आज मेरै छोरा, भोलि मेरै छोरा पठाउन्न म स्कुल 
२०३५÷०३६ सालतिर छेपाडीबासीको चेताना उस्तै थियो र भन्ने गर्थे, आज मेरै छोरा स्कुल पठाऊ भन्ने, भोलि मेरै छोरा स्कुल पठाऊ भन्ने, म पठाउँदिन । मेरो ठेक्का होइन, यदि स्कुल लैजानुहुन्छ भने मेरा गोरू, बाख्रा चराउने मान्छे मलाई देऊ । अनि मात्र स्कुल पठाउँछुु । यस्तो थियो गाउँबासी दाजुभाइको चेतना । विद्यालयमा विस्तारै विद्यार्थीको संख्या कम हुदै गयो भने स्वीकृति पाएको विद्यालय पनि बन्द हुने हो कि ? भन्ने डरत्रासले मनमा चिन्ता पैदा भएको थियो ।

एकातिर विद्यार्थी संख्या कम हुदै गएको र अर्कोतीर संख्या कसरी बढाउने भन्नेमा चिन्ता । हामी आफै गाउँ टोलमा पुगेर शिक्षाको महत्व बुझाउदै विद्यार्थी संख्या बढाउने अभियानमा जुट्यौं । यो अभियानमा शिक्षक अमर बहादुर शाही, परशुराम बडुवाल, कर्ण बडुवाल र म बजिरसिंह विश्वकर्मा निरन्तर लाग्यौं । विद्यार्थी संख्या २०० देखि ३०० सम्म पुग्यो । यो संख्या धेरै दिनसम्म टिकेन फेरी क्रमशः घट्ने काम चलिरयो । महिना दिन पुरा नहुँदै अन्तमा ९, १० जनामात्र विद्यार्थी विद्यालयमा रहन्थे ।

हामीले भन्दा शिक्षक अमरबहादुर शाहीले गाउँबासीलाई सम्झाउथ्य र हप्काउथ्ये पनि त्यसपछि भने विद्यार्थी संख्या बढ्थ्यो । यो कार्य निरन्तर चलिरहन्थ्यो । शिक्षाको विकासमा अम्वर बहादुर शाहीको छेपाडीको लागि अतुलनीय योगदान रहेको छ । यतिमात्र होइन, उपनिवेशकै रुपमा रहेको छेपाडीबासीहरूमा स्थानीय शासकको शोषण, दमन र हस्तक्षेपका विरूद्ध उहाँले प्रतिकार समेत गर्नु हुन्थ्यो । गाउँबासीलाई हौसला दिने र भयमुक्त बनाउने काम समेत उहाँबाट हुन्थ्यो ।

त्यसबेलाका प्रधानाध्यापकहरू
अमरबहादुर शाही (चामुण्डा तिलुखाना)
रविलाल आचार्य (चामुण्डा ९)
कृष्णबहादुर शाही (जम्बुकाँध)
अकलबहादुर शाही (सिंहासैन ७)
नैनसिंह बिष्ट (द्वारीचाखा दुल्लु)

स.अ. शिक्षकहरू
रामबहादुर बिष्ट (लाँकुरी)
चित्रबहादुर शाही (गमौडी)
गमानसिंह थापा (रावतकोट)
जनकबहादुर शाही (चामुण्डा)
तिलक प्रसाद उपाध्याय (तिलेपाटा–१)
विष्णु कुमारी शर्मा (तिलेपाटा–१)
हरी प्रसाद तिमिल्सेना (चामुण्डा)
सिरीलाल सुवेदी (चामुण्डा)
कृष्णबहादुर बलुवाल (सिंहासन–१)
धनबहादुर सिजापति (सिंहासैन–२)
धनबहादुर सिजापति (सिंहासैन–२)
नरबहादुर सिजापति (तिलेपाटा–५)
कपिन्द्रराज शर्मा (तिलेपाटा–७)
धीरबहादुर शाही (तोलिजैसी–६)
भद्रबहादुर थापा (सात्तला–७)
जीवराज रेग्मी (चामुण्डा–६)

विद्यालय व्यवस्थापन समिति
२०३२ साल अगाडिका कोषाध्यक्षहरूः
मन बडुवाल
ज्योति बडुवाल
लालसिंह बडुवाल
गोकर्ण बडुवाल

२०३२ साल पछि विद्यालय व्यवस्थापन समिति
प्रशुराम बडुवाल
कर्ण बडुवाल
लालसिंह बडुवाल
महाजित बडुवाल
बजिरसिंह विश्वकर्मा
करबिर बडुवाल
कृष्णबहादुर बडुवाल
कटकबहादुर बडुवाल
धन बहादुर सिजापति

२०४६ सालमा प्रा.वि देखि नि.मा.वि. हँदै मा.वि. सम्म प्र.अ. दलबहादुर सिजापति हुनुहुन्छ । वि.स. २०५६ देखि २०५७ सम्म नि.मा.वि. सञ्चालन गर्दा वार्षिक रु २०० प्रतिघरबाट चन्दा सङ्कलन गरियो । निम्न माध्यमिक विद्यालय तहमा निजी स्रोतबाट तलब भत्ता दिने गरी कपिन्द्रराज शर्मालाई नियुक्ति गरेर सञ्चालन गरियो । उनको तलब २५०० थियो ।

कठिनाइसंगै चुनौती
गाउँलेले शिक्षाको महत्व नबुझेको, आर्थिक रूपमा पनि कमजोर भएकाले वार्षिक रू २०० दिन पनि दुःख मान्न थाले । गाउँ विकास समितिको बैठक र परिषद्मा पटक पटक निमाविका विषयमा आर्थिक सहयोगका लागि प्रस्ताव राखियो ।तर कुनै सुनुवाई भएन । स्थानीय निकायका शासकहरूले बहुमतको आधारमा उक्त प्रस्तावलाई असफल गर्दै गए ।

गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरू भन्ने गर्थे, ‘हाम्रा मानिसहरू क्याम्पस, कलेजमा पढ्दै छन् । उनीहरू तयार हुँदै छन् । अब पास भएर आउने छन्, हामी प्रा.वि., निमावि र मा.वि. एकैसाथ सञ्चालन गर्नेछौं ।’ यसाे भनेर निर्लज्ज पटमूर्खहरू बकम्फूसे गफ हाँक्थे । उनीहरुको सहयो बिना नै स्थानीय समाजसेवी, बुद्धिजीवी र अभिभावकहरूको पहलमा वार्षिक रू ५०० चन्दा सहयोग लिएर निमावि स्वीकृत गराइयो ।

गाउँबासीको सक्रिय सहभागितामा प्रस्तावित मा.वि.को लागि पहल गरियो । कक्षा ९ र १० का विद्यार्थीहरूको नाम श्री कालिका उमावि तिलेपाटामा लेखाउने र पठन पाठन श्री पशुपति प्रस्तावित मा.वि.मा नै गराउने गरियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर बडुवाल र प्र.अ. दलबहादुर सिजापतिको कार्यकालमा पशुपति मा.वि. छेपाडीले स्वीकृति प्राप्त गरेको हो । यो स्वीकृतिका लागि निमित्त जिल्ला शिक्षा अधिकारी हेमकुमार ढकालको पूर्ण सहयोग रहेको थियो ।

पछि श्री सृजना प्रा.वि.आका, श्री आदर्श प्रा.वि.राईढुङ्गा, श्री शान्ति प्रा.वि. आसिकार्ने, श्री आदर्श प्रा.वि. मेहलगाउँ र गणेश प्रावि पुर्छालगायतका प्रा.वि.को स्वीकृति प्राप्त गरियो । पशुपति मा.वि. चलाउन निकै गाह्रो अवस्थामा पुग्यो । मा.वि. दरबन्दी नभएको, राहत पनि नभएको, एउटामात्र पि.सि.एफले कसरी निजी स्रोतका शिक्षकहरूलाई वार्षिक तलब भत्ता खुवाउन सकिन्छ ? कक्षा १ देखि १० सम्म पठन पाठनलाई अगाडि बढाउन, कक्षा ६ देखि १० सम्म वार्षिक रु ५०० देखि १३०० सम्म अभिभावकहरूले सहयोग गर्दै आएका छन् ।

शिक्षकको वार्षिक तलब भत्ता
वर्ष भरि शिक्षकको वार्षिक तलब भत्ता खुवाउनका लागि यस्तो व्यवस्था गरिएको छ ।
क्र.स.                                         कक्षा                                 शुल्क
१                                                   ६                                   १०००
२                                                   ७                                   १३००
३                                                   ८                                    १६००
४                                                   ९                                    २५००
५                                                  १०                                     ३०००

कक्षा ६ मा शुल्क एक हजार, कक्षा ७ मा शुल्क १३००, कक्षा ८ मा शुल्क १६००, कक्षा ९ मा शुल्क २५००, कक्षा १० मा शुल्क ३००० गरी अविभाकबाट सहयोग शुल्क उठाएर वर्षभरिको शिक्षकको तलब भत्ता परिपुर्ति गरिएको छ । यो निर्णय विव्यस र समस्त अविभावकहरुले सर्वसम्मतरुपमा पारित गरेका छन् ।

भवन निर्माण
भवन निर्माणमा जिल्ला शिक्षा कार्यालयबाट एउटा भवन, एनसेलको आर्थिक सहयोगमा २ वटा भवन निर्माण भएका थिए । पहिरोले गर्दा २ कोठेभवन भत्कियो । जिल्ला शिक्षाको सहयोगमा २ कोठेभवन सप्रोस नेपालको सहयोगमा तीनकोठे भवन र प्याफ नेपाल गरिबी निमारण कार्यक्रमको अर्थिक सहयोगमा ४ कोठे पक्की भवन निर्माण सम्पन्न भएका छन् ।

यो अवस्थामा आइपुग्न यहाँका बासिन्दाले नागबेली बाटो र भिषण संघर्षसंग जुध्न परेको तितो यर्थात हाम्रा सामु छ । शासकहरुका कारण अन्धकारमा रुमलिएको छेपाडीका बासिन्दाहरुका सन्ततीहरुको अथक मेहनत र परिश्रमले गर्दा अचेल शिक्षा क्षेत्रमा बामे सर्दै स्कुल हुदै विश्वविद्यालय सम्मको अध्यन गर्न सक्षम भएका छन् । आईए, बिए. एमए. र पिएचडी सम्मको शिक्षा हासिल गर्न सफल भएर देशकै गहनाका रुपमा परिचित पनि भएका छन् ।

यस ठाउँबाट पहिलो पिएचडी हासिल गर्ने डा. कुपाराम विश्वकर्मा यसठाउँको मात्रै गहना नभएर्, यसठाउँबाट शिक्षा प्राप्त गर्नु जिल्लाकै गौरबको रुपमा लिएका छौं । आगामी दिनहमा निस्वार्थ रुपमा देश र जनताको सेवामा समर्पित भई आमुल परिवर्तनको लागि निरन्तर रुपमा लागि पर्नेमा हामी आशावादी पनि छौं ।

समस्त किसान दाजुभाईको मेहनत र पसिनाले पहाडका चट्टान फोडी मैदान बनाएर प्रावि देखि मावि हुदै कलेज र क्याम्पस सम्म पुग्ने उदेश्यका साथ आदर्श समाज निर्माण गर्ने कार्यमा टेवा पुग्नेमा पूर्ण विश्वास छ । पुजिवादी विकृति विसंगतिबाट समाजलाई जोगाउदै साम्यवादी आजुमा पुग्ने लक्ष्यका साथ शिक्षक विद्यार्थीका पाईला अगाडि बढून् भन्दै श्री पशुपति मा.वि. छेपाडीको उत्तरोतर प्रगतिको कामना गर्दछु ।

स्मरणमा विगत ?
दैलेख सिंहासैन गाविसको पूर्वी क्षेत्रमा अवस्थित छपाडी गाउँ विगत देखि वर्तमान अवस्थामा के कस्ता भोगाइ, दुःख र पीडाका साथै परिवर्तनको बाटोमा कसरी अगाडि बढिरहेको छ भन्ने झल्को यस आलेखले प्रस्तुत गरेको छ । २००७ सालको परिवर्तन अगाडि, सिंहासैन र तिलेपाटाको बीचमा पर्ने छेपाडी गाउँका बासिन्दाले वर्षा याममा खेत रोप्ने बेला स्थानीय शासक जिमुवाल, मुखियाको खेतमा अनिवार्य बेठ–बेगरीको रूपमा महिला पुरूषहरूले काम गर्नुपथ्र्यो ।

खेतमा बाली पाकेको समयमा सितोस्यावल (नुवाखी), चिउराको रूपमा धान र घोडाको दानाको रूपमा भटमास, दाल शासकहरुलाई दिनुपथ्र्यो । उनीहरका छोराछोरीको विवाह, व्रतबन्ध हुनेबेला विवाह खर्च भनेर किसानले खर्च समेत दिनु पथ्र्यो ।

गाउँमा कसैले जारी पारेर श्रीमती ल्याएमा जारी खर्च भनी थप रकम दिनु पर्ने, शासकहरूका छोरा छोरीहरू पढाउँदा पढाइ खर्च समेत तिर्नुपर्ने, मालपोत असुल गर्न आएमा मालपोत रकम तिर्न नसक्ने किसानहरूका खेत बालेकुत (लिलाम) मा गयो भनी गरीब किसानका खेतहरूका मालिक समेत शासकहरू नै हुने, किसानहरू घर बारविहीन भएको अवस्थामा गरीबहरूले नयाँ जग्गा आवाद गर्न खोज्दा ठेकिबोकी (खसीबोका खोसेर लिने) भनेर मोटो रकम लिने गर्थे ।

किसानले आवाद गरेको आफ्नो जग्गा कानुनीरूपमा पुर्जा लिन खोज्दा र नाममा कायम गर्ने समयमा जग्गा तिम्रो होइन हाम्रो हो, हामीले मात रू २÷४ लिएका हौं । तिम्रो मात लैजाऊ, हाम्रो जग्गा छोडिदेऊ भनेर जग्गामा आफ्नो स्वामित्व कायम गर्थे । यसरी गरिब किसानको उठिबास गर्थे । राष्ट्रिय चाडपर्वहरू मनाउने समयमा दशैं खर्च भनेर कसैले दिन नमानेमा दिन्छस् कि कागजमा सही गर्छस् भनेर धम्की दिने गर्थ्ये । त्यतिखेरको कागजमा सही गर्नु भनेको गरिबहरूका लागि जेल जानु जस्तो हुन्थ्यो ।

अनि घरका खसी, बोका र दाल चामल आफ्ना छोराछोरीको पेट भोकै राखेर पनि शासकलाई दिनु पथ्र्यो । शासकहरू वर्षको एकचोटी मालपोत असुल गर्न आउँदा प्रत्येक किसानले एकामाना चामल मोहीमानाको रुपमा तिर्नु पथ्र्यो । एक पैसा मालपोत रकम तिर्नु पर्नेमा पच्चिस पैसा लिने, ५ रुपयाँ ऋण दिए भने त्यसमा शुन्य थपेर ५० बनाई तमसुक गराउने गथ्र्ये ।

लामोसमय काम गर्दा पनि त्यो ऋिण रहिरहने हुदा बाजे, बाबु, छोरा नाति गरी चार पुस्ता सम्ममा पनि ऋण नमेटिनु, हलिया कमारो जस्तै भएर चौथो पुस्ताले पनि छुटकारा नपाउने बिडम्बना थियो । यतिमात्र कहाँ होर मानिस मानिस बीच विभेद गरेर अछुत बनाइ तल्लो र माथिल्लो जात कायम गरी मानिसलाई दलनमा पारेका थिए ।

कामी, दमाई, सार्की र बादीले कागजमा लेखिएका अक्षरहरु देखेमा वा छोएमा पाप लाग्छ भनेर प्रचार प्रसार गर्ने, ती अक्षर पढेमा नर्क पुगिन्छ भनेर छलछामको आधारमा समाजलाई दबाएका थिए ।

७ सालका उपलब्धि खोसेर परमेश्वरको व्यवस्था
जनताको बलिदानबाट प्राप्त सीमित अधिकारहरूका कारणले वि.स २०१५ सालमा आम चुनाव भयो । २०१७ सालमा प्राप्त अधिकारहरु खोसिए । षड्यन्त्रमूलक ढंगले राष्ट्रमा पञ्चायती व्यवस्था लागु गरियो । उक्त व्यवस्थालाई परमेश्वरको व्यवस्था पनि भनियो । सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भन्ने शब्द पुकारियो । केन्द्र, अंचल, जिल्ला र गाउँ पाचायतमा राष्ट्रलाई विभाजन गरियो ।

प्रत्येक गाउँ पञ्चायतमा प्रधानपञ्च, उप–प्रधानपञ्च र वडा सदस्यहरू चुनिए । यसरी नै दैलेख जिल्लाको पश्चिम क्षेत्रको सिंहासैनन र पिपलकोटको प्रधानपञ्चमा दत्तप्रसाद जैसी, विलेपाटाको प्रधानपञ्चमा छेपाडी निवासी प्रशुराम बडुवाल र बेरुपाटा निवासी कुश्माखर जैसी उपप्रधानपञ्चमा चुनिएका थिए । वडा सदस्यहरूमा छेपाडीबाट कर्ण बडुवाल, गोकुले बडुवाल चुनिएका थिए । त्यतिबेला पिपलकोट सिंहासैनमा पथ्र्यो भने छेपाडी तिलपाटा गाउँपंचायतमा थियो ।

त्यो बेला प्रत्येक गाउँपंचायतमा एउटा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय राज्यले स्वीकृति दिएको थियो । छेपाडी जस्तो विकट गाउँ उपनिवेश जस्तै थियो । सिंहासैन र तिलेपाटाको सीमाना छेपाडीको वडा नं. १ र ४ मा पर्ने आगाडखोला कायम गरिएको थियो । आगाडखोला वारी तिलेपाटा र पारी सिंहासैन पथ्र्यो । छेपाडीका शोषित, पीडित, गरिब किसानहरूले खरचरी (जंगलको स्वामित्व) रकम तिर्नुपथ्र्याे ।

भूमि तथा वन जंगलको स्वामित्व स्थानीय शासककै थियो । पञ्चायती व्यवस्था लागू भएपछि गाउँ पञ्चायतमा थरीकै छोराहरू नै किन प्रधानपञ्च चुनिए ? फेरि पनि आन्दोलन हुने हो कि ? जेल जानु पर्ने र कतै मर्नु पर्ने हो कि ? भनेर सामन्तहरूले थरी (क्षेत्री)का छोराहरुलाई अगाडि ल्याएका थिए । त्यसपछिका चुनावहरूमा सामन्त र शोषकहरूकै बोलवाला र बाहुल्यता थियो ।

सरसफाईको अबस्था
चेतनाविहीन समाजमा फोहोरमैला पनि त्यत्तिकै थियो । गाउँमा सरसफाई गराउँनका निम्ति भाँडाकुँडा सफा राख्नु पर्छ भनेर गाउँमै गएर प्रत्येक घरको एउटा लोहोटा खरानीले माझेर देखाउने अभियान समेत चलायौं । घरदैलोमा नै गएर कर्ण बडुवालले काम गरेका थिए भने प्रशुराम बडुवालले धारा, कुवा, बाटाघाटाहरू सफा गराउने काम गरेका थिए । यसरी गाउँबासीलाई सफाइ अभियानमा लगाउने काम गरेका थियौं ।

केही तिता अनुभूति
विद्यालय स्थापनासँगै केही तिता अनुभूतिहरू पनि रहेका छन् । मने बडुवाल विद्यालयको कोषाध्यक्ष बनेका बेला शिक्षक अमरबहादुर शाहीको तलब पूर्ति गर्न नसक्दा प्रहरीको सहयोगमा उनको तामाको ताउली नपुग तलबमा दिनु परेको थियो । २०४२ सालमा जयाबहादुर कठायतले टेष्टपास (१० कक्षा) गरेपछि पशुपति प्राथमिक विद्यालयमा १ महिना निःशुल्क अध्यापन गरेका थिए ।

त्यसबेला टेष्टपास गरेकालाई प्रा.वि., निमावि र मा.वि.सम्म अध्यापनको लागि नियक्ति गरेर विद्यालय सञ्चालन गरिन्थ्यो । छेपाडीको हकमा जयाबहादुर कठायतले पशुपति प्राविमा सेवा गर्ने अवसर पाएनन् । कारण थियो आपसी मतभेद । कसैले आफ्नो नाता पर्नेहरूलाई समर्थन गरेपछि जया बहादुर कठायतले सेवा गर्ने अवसर पाउन सकेनन् ।

स्मरणीय कुरा
आफू जन्मिएको ठाउँ र आफ्नो देश स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरा आदरणीय सर कृष्णबीर नेपाली उदाहरणको रूपमा देखिनु भएको थियो । पुर्खाहरूको अवस्थलो दैलेख जिल्लाको कट्टी गाविस भएकाले उहाँका बुबाले आफ्नो जन्मथलो छोडेर भाग्नु परेको थियो । जसको कारण गरिबी र अन्तरजातीय विवाह थियो । भारतको नैनिताल पुगेका उहाँका परिवार जंगलबाट दाउरा बोकेर जीवन चलाउने गरेका थिए । छोरा कृष्णबीर नेपाली रेलको यात्रामा लालकुवा भन्ने रेलवे स्टेशनमा जन्मिनु कम दुःखको कुरा थिएन ।

छोराको लालन पालनका साथै कक्षा १० सम्म दुःखका साथ पढाउन उहाको परिवारले निकै कष्ट गरेको थियो । आफु बुझ्दै गएपछि र उच्च शिक्षा १ जना अंग्रेज अफिसरको भान्से बनेर सेवा गर्दै पढाईलाई अगाडि बढाउन सफल हुनुभएको थियो । उच्च शिक्षा हासिल गर्न लखनउ विश्वविद्यालयमा भर्ना भई डबल एमए पास गर्नु भएको थियो । अंग्रेजी विषयमा डबल एमए गरीसकेपछि आफ्नो देश र अवस्थलो सम्झेर दैलेख फर्किनु भएको थियो । २०२६ सालमा लकान्द्र निवासी गोलु उपाध्यायका साथमा नैनितालदेखि दैलेखको लकान्द्र पुग्नु भयो ।

प्रधानपञ्च कलमबहादुर शाही, चौकीदार मानसिंह कामी लगायतका मान्यजनको सल्लाह अनुसार लकान्द्र ठाटीकाँधमा श्री भैरवस्थान मिडिल स्कूलमा पढाउन अनुरोध गर्दा उहाँ मञ्जुर हुनु भयो । विद्यालयको भवन थिएन । साउन, भदौमा निरन्तर पानी परिरहेको अवस्थामा टम्टाल्ला निवासी बलबहादुर थापाको माडुचौर भन्ने ठाउँको नारेमा पठन पाठन शुरू गर्नु भयो ।

छात्रहरूमा तिलेपाटाका पूर्णबहादुर बडुवाल, छेपाडीबाट म बजिरसिंह विश्वकर्मा, लकान्द्रबाट तेजे रावल, नैने रावल, केवले रावल, बलबहादुर विश्वकर्मा, रेशम शाही, ईन्द्र शाही, बलबहादुर शाही (विनोद) लगायतलाई पढाउनु भयो । केहि समय पछि लकान्द्रले गतिविधि अगाडि बढाउन सकेन । त्यसपछि जम्बुकाँधमा पढाउन आउनु पर्यो भनेर देवमल्ल कार्की, तिलबीर सिंह खत्री, प्रधानपञ्च राजबहादुर शाहीको आग्रहमा ज्वाला मिडिल स्कुल जम्बुकाँध पढाउन जानु भयो ।

हामीहरू पनि जम्बुकाँध पढ्न गयौं र कक्षा ७ उत्तीर्ण गर्यौ । त्यसपछि उहाँ विजया मिडिल स्कुल दुल्लुमा पढाउन जानु भयो र हामीहरू घरतिर फर्किर्यौ । उहाँको साथमा बलबहादुर शाही (विनोद) लाग्नु भयो । आदरणीय सर कृष्णबीर नेपालीले आफ्नै साथमा लिएर बलबहादुर शाही (विनोद)ले बि.ए. पास गर्नु भयो । उहाँँकै सहयोगले बलबहादुर शाही (विनोद)को जीवन परिवर्तन भएको हो ।

तर आफ्नो भाग्य विधाताको नामै लिन नचाहनेहरू लकान्द्र उमाविको नाम कृष्ण उमावि राख्नुको अर्थ कृष्णबीर नेपालीको नामबाट राखेको दावी गर्छन् । गरीबीको भुमरीमा पनि मानिसमा ईच्छाशक्ति भएमा सफलताको शिखर चुम्न सकिन्छ भन्ने कुरा सर कृष्णबीर नेपालीबाट सिक्न सकिन्छ ।

अहिले उहाँ हाम्रा सामु हुनुहुन्न, उहाँको सपरिवार विवाह भोजमा गइरहेको बेला जीप दुर्घटनामा परी भारतमा मृत्यु भयो । कृष्णबीर नेपाली टमटा थरको हुन्थ्यो । कट्टीमा रहेका आफन्तसंग बेला बेला भेटघाट गर्नु हुन्थ्यो । स्वर्गीय कृष्णवीरप्रति भावपूर्ण श्रद्धाञ्जली ।

२०७७ माघ ४ काठमाडौं

(लेखक स्थानीय छेपाडीबासी हुन् । समाजसेवामा समर्पित भएर निरन्तर कलम चलाउदै आउनु भएको छ) 

Mohotsav


Thali Mobile Pvt.Ltd.