भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत

५ वर्षपछि खिम्ती–१ जलविद्युत् सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्ने संकेत

काठमाडाैं, २८ जेठ । खिम्ती–१ जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर स्वामित्व नेपाल विद्युत् प्राधिकरणको नाममा हस्तान्तरण गर्ने प्रक्रिया पाँच वर्षको अन्योलपछि अघि बढ्ने संकेत देखिएको छ । २०५२ सालको विद्युत् खरिद सम्झौताअनुसार व्यावसायिक उत्पादन सुरु भएको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा आउनुपर्ने व्यवस्था भए पनि विभिन्न प्राविधिक र नीतिगत विवादका कारण प्रक्रिया लामो समयदेखि रोकिएको थियो ।

सरकार र प्राधिकरणले पछिल्लो समय वार्ता समिति पुनर्गठन गरेसँगै अब प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडसँग औपचारिक छलफल अघि बढाउने तयारी गरेको छ । समितिले आयोजनाको स्वामित्व हस्तान्तरण, नयाँ विद्युत् खरिद सम्झौता (PPA), रोयल्टी तथा करसम्बन्धी विषयमा वार्ता गर्नेछ ।

हिमाल पावरसँग व्यवस्थापन संरचना, निर्णय प्रक्रिया र प्रबन्धपत्रका विषयमा सहमति नहुँदा प्रक्रिया अघि बढ्न नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले ५० प्रतिशत स्वामित्व पाएपछि बराबरीका आधारमा निर्णय अधिकार हुनुपर्ने अडान राख्दै आएको छ ।

डलरमा गरिएको पुरानो पीपीएका कारण प्राधिकरणले वर्षौंदेखि ठूलो वित्तीय भार व्यहोर्दै आएको छ । नयाँ दर र हिसाब मिलानबारे सहमति भएपछि मात्र बाँकी भुक्तानीको विषय टुंगो लाग्नेछ । हालसम्म आयोजनाबाट उत्पादित बिजुलीका लागि अन्तरिम दरमा भुक्तानी भइरहेको छ ।

खिम्ती–१ आयोजना नेपालमा बुट (Build-Operate-Transfer) मोडलअन्तर्गत सञ्चालनमा आएको पहिलो ठूला जलविद्युत् परियोजनामध्ये एक हो । यो आयोजनाको स्वामित्व हस्तान्तरण प्रक्रिया टुंगिन सकेमा नेपालमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलको विश्वसनीयतामा पनि महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अब पुनर्गठित वार्ता समितिले प्राविधिक, वित्तीय र कानुनी विषयमा छलफल अघि बढाएर लामो समयदेखि रोकिएको प्रक्रिया निष्कर्षमा पुर्‍याउने लक्ष्य राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.