भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर, २७ जेठ । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो ।

यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ ।

नगरपालिकाको ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था निड्स नेपालको सहकार्य तथा समन्वयमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको छ ।

तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, महत्त्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका उपायबारे जानकारी गराइएको छ । तालिमका प्रशिक्षक तथा गड्यौला मल उत्पादक वीरबहादुर हमाल रासायनिक मलको अत्यधिक प्रयोगले खेतीयोग्य जमिनको गुणस्तरमा ह्रास आउन थालेपछि अब प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।

माटोमा रहेका उपयोगी जीवाणु नष्ट हुनुका साथै उत्पादन लागत बढ्ने समस्या देखिन थालेपछि किसान वैकल्पिक उपायको खोजीमा रहेकाले गड्यौला मलबारे जानकारी दिन जरूरी भएको उनले बताए ।

हमालले भने, “गड्यौला मल माटोका लागि मात्र होइन, बिरुवाका लागि पनि अत्यन्त उपयोगी छ । यसलाई बिरुवाको तयारी खाना पनि भनिन्छ । बिरुवाको जरामा प्रयोग गरेको चारदेखि पाँच दिनभित्र यसको प्रभाव देखिन थाल्छ ।”

उनका अनुसार गड्यौला मलमा नाइट्रोजन, फस्फोरस, पोटास, जिङ्क, क्याल्सियम, बोरोनलगायत बिरुवाको वृद्धि र उत्पादनका लागि आवश्यक १३ प्रकारका पोषकतत्व पाइन्छन् ।

यसले माटोको संरचना सुधार्ने, पानी धारण गर्ने क्षमता बढाउने र जैविक सक्रियता वृद्धि गर्न सघाउ पुर्याउँछ । पछिल्ला दिनमा विशेषगरी तरकारी, फलफूल, कौसीखेती तथा नर्सरी सञ्चालन गर्ने किसानले गड्यौला मलको प्रयोग गर्न चासो दिन थालेका छन् ।

“त्यसैले पनि पहिले यसको महत्त्व बुझाउन कठिन हुन्थ्यो, हाल मागअनुसार आपूर्ति गर्नै समस्या हुनथालेको छ”, हमालले भने ।

विसं २०७१ देखि नेपालगन्जमा गड्यौला मल उत्पादन गर्दै आएका हमालले वार्षिक ६४ टन मल उत्पादन गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १० जिल्लामा आपूर्ति गर्दै आएका छन् । यस व्यवसायबाट उनले वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी गर्दै आएको सुनाए ।

उनका अनुसार गड्यौला मल उत्पादनका लागि ठूलो लगानी आवश्यक पर्दैन । गोबर, जैविक फोहर र गड्यौलाको बीउ प्रयोग गरी खुला स्थान वा सेड निर्माण गरेर मल उत्पादन गर्न सकिन्छ ।

बजारमा गड्यौला मल प्रतिकिलो रु ३० देखि रु ३५ सम्ममा बिक्री भइरहेको छ भने गड्यौलाको बीउ प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ । “मल उत्पादनसँगै गड्यौलाको बीउ बिक्रीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, हमालले भने, “यसले किसानलाई कृषि पेसासँगै उद्यमशीलतामा समेत जोड्ने अवसर दिन्छ ।”

शुक्लाफाँटा नगरपालिकाले गड्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ । नगरपालिकाको उद्यम शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार शुक्लाफाँटा–९ स्थित सामुदायिक गौशालामा २८ वटा गड्यौला मल उत्पादन गर्न ‘पिट’ निर्माण गरिएका छन् ।

“गौशालाबाट दैनिक रूपमा निस्कने गोबरलाई उपयोग गरेर व्यावसायिक रूपमा गड्यौला मल उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उनले भने “किसानलाई पनि उत्प्रेरित गर्दैछौँ । यसपटक तालिममा सहभागी किसानलाई सीप मात्रै होइन आवश्यक औजारसमेत अनुदानमा उपलब्ध गराउँदै छौँ ।”

गाईवस्तुको गोबर व्यवस्थापन, वातावरणीय सरसफाइ र स्थानीयस्तरमै प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

तालिममा सहभागी किसान ललितबहादुर साउदले गड्यौला मल उत्पादनबारे व्यावहारिक ज्ञान प्राप्त भएको बताए । “रासायनिक मल हालेर उत्पादन बढाएको जस्तो लाग्थ्यो, तर यसले माटोलाई कमजोर बनाउँदै लगेको रहेछ”, उनले भने, “अब घरमै गड्यौला मल उत्पादन गरेर प्रयोग गर्ने र अतिरिक्त उत्पादन बिक्री गर्ने योजना बनाएका छौँ ।”

निड्स नेपालले सञ्चालन गरिरहेको ‘दिगो आम्दानीद्वारा महिला उद्यमी सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगरपालिकाका महिला तथा किसानलाई पनि गड्यौला मल उत्पादनसम्बन्धी तालिम दिने गरिएको छ ।

परियोजनाका संयोजक हेमन्त शाहीका अनुसार तीनवटै पालिकाका सामुदायिक गौशालासँग सहकार्य गरेर स्थानीय किसानलाई सीपमूलक तालिम दिनुका साथै अनुभव आदानप्रदानसमेत गराउँदै आइएको छ ।

उनले भने, “किसानले कक्षाकोठामा भन्दा प्रत्यक्ष अभ्यासबाट धेरै सिक्छन् । त्यसैले उत्पादन गरिरहेका किसानको फार्ममा लगेर गड्यौला मल उत्पादनको सम्पूर्ण प्रक्रिया देखाउने गरेका छौँ ।”

गड्यौला मलको प्रयोगले रासायनिक मलमा निर्भरता घटाउने, माटोको स्वास्थ्य सुधार्ने, उत्पादनको गुणस्तर बढाउने र वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको महत्व बढ्दै गएको शाही बताउछन् ।

“पछिल्ला वर्षहरूमा अग्र्यानिक उत्पादनको माग बढ्दै जाँदा गड्यौला मल उत्पादक किसानका लागि कृषि सहायक पेसामात्र नभई राम्रो आम्दानी दिने उद्यमका रूपमा स्थापित हुँदै गएको छ”, उनले भने । रासस

 


Thali Mobile Pvt.Ltd.