भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

मुख्य बुँदा 

सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमालको आरोहण सम्पन्न

कुल १,१९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए

सगरमाथा आरोहणका लागि मात्र ४९५ आरोहीले अनुमति प्राप्त गरेका थिए

५६ देशका आरोही सगरमाथा तथा अन्य हिमालमा सहभागी भएका थिए

चीन, अमेरिका र भारतका आरोहीहरूको संख्या सबैभन्दा बढी रहेको

कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका छन्

लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला तर्फ आफ्नै कीर्तिमान तोडेकी छन्

यस सिजनमा सरकारले करिब १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ

काठमाडौँ, २७ जेठ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले अनुमति दिँदै आएको छ ।

नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ रहेका छन् । विभिन्न देशबाट नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यो वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएको जानकारी दिए । जसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथामा मात्र आरोहणका लागि ४९५ आरोहीले अनुमति लिएका थिए ।

सगरमाथा आरोहणको अनुमति लिनेमा ५६ देशका आरोही रहेका छन् । जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइड गरी झण्डै एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चिनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्टेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्याण्डका ११ आरोही पुगेका छन् ।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका हुन् ।

महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पा ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो रेकर्ड आफैँ तोडेका हुन् ।

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न दिएको अनुमतिबाट रु एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको छ ।

लोत्से हिमालबाट रु छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आमा दब्लमबाट रु एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट रु एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ ।

यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएवापत सरकारले रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.