काठमाडौँ । प्रधानमन्त्री ओलीसँग निकटताका कारण नेसनल मेडिकल कलेजले कारबाहीबाट उन्मुक्ति पाउने गरेको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षामा स्नातकोत्तर तह (एमडीलगायत) का विषयका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेको छ ।
निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीको निर्देशनमा कलेजले ‘अवैध शुल्क’ लिएको विद्यार्थीले गुनासो गरेका छन् । सरकारले तोकेभन्दा बढी शुल्क नतिरे परीक्षाबाट समेत वञ्चित गर्ने चेतावनी कलेजले दिएको छ । २०७६ ब्याचको दोस्रो वर्ष अध्ययनरत २५ विद्यार्थीसँग एक एक लाखका दरले बढी शुल्क माग गरिएको विद्यार्थीले बताएका छन् ।
सादा कागजमा कलेजको छाप लगाइएको बिल दिँदै रकम असुल्न थालिएको उनीहरुको भनाई छ । मंसिर पहिलो साता उक्त ब्याचको परीक्षा सञ्चालन हुँदै छ । परीक्षा आवेदन भर्ने बेला नै थप एक लाख नबुझाए सहभागी नगराउने चेतावनी दिइएको विद्यार्थीहरूले बताए । कलेजले बढी शुल्क मागेपछि विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान र चिकित्सा शिक्षा आयोगमा उजुरी गरेका छन् ।
त्रिविबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल निजी कलेज हो । आईओएमले एमडी, एमएस, एमडीएस अध्ययन गर्न २२ लाख शुल्क तोकेको छ । अध्ययन अवधिभर लाग्ने परीक्षा, भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिमलगायत सम्पूर्ण शुल्क त्यसैमा समावेश गरिएको हुन्छ । तर परीक्षा फाराम भर्न जाँदा थप एक लाख मागिएको विद्यार्थीले बताएका छन् । फाराम भर्ने म्याद कात्तिक २० गतेसम्म तोकिएको छ ।

