काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन्। उनीसंगै प्यान नै विजयी भएको छ । यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति रहेका बानियाँ आज बिहान आएको मतपरिणामअनुसार सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले हराएका हुन्।
वरिष्ठ नेताहरुको समर्थन रहेको बानियाँलाई फेरीपनि एकपटक काठमाडौंको सभापति बनाउँन सफल भएको हो । यता कार्कीलाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन रहेको थियो। काठमाडौंमा नेता प्रकाशमान सिंहको र गगन थापाको पकड क्षेत्रका रुपमा पनि हेर्ने गरिन्छ। वडादेखि नै सिंह र थापा पक्षले पकड जमाउँदै आएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच कडा प्रतिस्पर्धा हुने कार्यकर्ताले अनुमान गरेका थिए । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा थिए भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए । अन्तत काशमान–गगन पक्षले बलियो काँग्रेस र जनताको काँग्रेस बनाउँन बानियाँलाई काठमाडौं सभापतिमा दोहोर्याएरै छाड्यो ।
१३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका कार्कीलाई पराजित गरी बानियाँ विजयी भएपछि काँग्रेस काठमाडौंले खुशी व्यक्त गरेको छ । बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका थिए । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ ।
यसैबीच धादिङ कांग्रेस सभापतिमा रामनाथ अधिकारी विजयी विजयी भएका छन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।अधिकारीले सभापति शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतअन्तरले पराजित गरेका हुन् । अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत पाए ।
यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए । सहसचिवमा नवराज तिमिल्सिना विजयी भएका छन् भने क्रान्ति डल्लाकोटी र विजयकुमार तामाङको मत बराबर छ र उनीहरूले ९९५ मत ल्याएका छन् । अन्य पदाधिकारी र सदस्यमा धिकांश रामनाथकै प्यानल विजयी भएको छ ।
उता कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । आइतबार भएको पुनः मतदानमा पन्थीले देउवा पक्षका बेदबहादुर थापा मगरलाई ८८७ मत अन्तरले पराजित गरेका हुन् । पन्थीले एक हजार २७१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी थापा मगरले ३८४ मत मात्रै ल्याए। पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । गुल्मीमा एक हजार ६९३ मत खसेको थियो ।
