काठमाडौँ । कोरोनाको जोखिम अझै बढीरहेका बेला महाशिवरात्रिको अवसरमा पशुपतिमा थेगिनसक्नु मानिसको भीडले भने महामारी समाप्त भएको आभास गराएको छ ।
पशुपतिनाथको समेत दर्शन गर्न नपाएका भक्तजनको घुइँचोले कोरोनालाई नै चक्मा दिएको भान पशुपति क्षेत्रमा भएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले गत वर्ष १६ लाखले पशुपतिनाथको दर्शन गरेकोमा यो वर्ष साँझ साढे ६ बजेसम्म ६ लाख दर्शनार्थीले मात्रै दर्शन गरेको जानकारी दिए ।
पशुपति क्षेत्र बाहिरीको प्रवेश मार्गदेखि भित्री मार्गको ठाउँ ठाउँमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरी प्रवेशमा नियन्त्रण गर्दा बाहिरी क्षेत्रमा मानिसको अत्यधिक चाप बढेको थियो । तिलगंगादेखि चाबहिल चोकसम्मको सडकमा ठेलम्ठेलको अवस्था थियो । मृगस्थली क्षेत्रबाट आउने मार्गको तीन चार ठाउँमा सुरक्षाकर्मीले रोक्दा मानिसहरु सहज रुपमा मन्दिर परिसर बाहिरसमेत पुग्न कठिनाइ भएको थियो ।
