काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा हेर्दा रोचकलाग्ने तर घोचक दृश्यहरु दर्शकले नियालिरहेका थिए । शीर्ष नेताका अभिव्यक्तिले दर्शकलालाई मात्रै होइन मञ्चको दायाँ दिर राखिएका पत्रकारहरुलाई पनि कानेखुसी गर्न बाध्य पारिएको थियो ।
शुभकामना दिनका लागि उपस्थित भएका सत्तारुढ र प्रतिपक्ष राजनीतिक दलका नेताबीच शुभकामना मन्तव्यमै कटाक्ष सुरु भयो । धेरैले केपी ओलीको सरकारको पालामा सुशासन नभएको कटाक्ष गरिरहेका बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘केपी शर्मा ओलीको सरकार हटेपछि पनि सुशासन आउन नसकेको भनेर देउवा नेतृत्वको सरकारको कडा आलोचना गरे ।
लगत्तै उद्घाटन सत्रलाई सम्बोधन गरेका देउवा पनि पौडेललाई कटाक्ष गर्दै भने, ‘रामचन्द्रजी चिसोको कारणले बोल्न पनि सक्नुभएन, बिचराले के गर्ने ?’ यति भन्न नभ्याएका देउवाको पक्षमा हडडडड हुटिङ नै चल्यो । औपचारिक कार्यक्रममा देखिएको यो ‘घोचपेच’ विगतदेखिकै द्वन्द्वको अभिव्यक्ति हो भनेर फ्लोरले सहजै अनुमान गर्न भ्यायो ।
कार्यक्रम सुरु हुनुअघिका प्रसंग झनै रोचक बने । भारतीय जनता पार्टीका नेता हर्षवद्र्धन र कंग्रेस आईका महासचिव मुकुल वास्निकले पनि व्यङ्ग स्वरुप यति धेरै पूर्वप्रधानमन्त्रीहरु आफूले पहिलोपटक एउटै मञ्चमा देखेको बताए ।
मञ्चमा शुभकामना दिन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित विभिन्न दलका शीर्ष नेता उपस्थित रहेको उक्त कार्यक्रममा हर्ष वर्दनले दुई देशबीचको सम्बन्ध निकै राम्रो रहेको बताए । भारतीय नेतालाई मञ्चको कुन ‘लेयर’ मा राख्ने भन्नेमा अन्योल देखिएको कार्यक्रममा अतिथि व्यवस्थापनमा अलमल भएपछि प्रधानमन्त्री देउवा रिसाएजस्तो देखिएका थिए ।
पूर्वप्रधानमन्त्री ओली शुभकामना दिन उठेपछि त झन ताली बर्सियो । ओलीको सरकार ढालेर देउवा प्रधानमन्त्री बनेको झझल्को यतिबेला झन झल्कीएको थियो । आफ्नै वरिष्ठ नेता कमल थापालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुभकामना सम्बोधनमा दिएको अभिव्यक्ति झन ‘बहसको केन्द्र’ बन्यो ।
लिङ्देनले राजनीतिक दलहरुले जनतामाझ विश्वास गुमाउँदै गएको र गाउँमा नेता जाँदा मान्छेले ‘कुनचाहिँ चोर आएछ भन्छन्’ भन्ने गरेको टिप्पणीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटाक्ष गरे । राष्ट्रप्रमुखमा राजसंस्था हुनुपर्ने धारणा राखेका लिङ्देनलाई त्यो साँचो होइन भन्दै प्रचण्डले हात हल्लाए । तलबाट ‘हो’ भन्दै फेरि हुटिङ चल्यो ।
लिङ्देनले गरेको कटाक्षप्रति ओलीले लिङ्देनलाई ‘भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, अलि बढी कुद्छ क्या ’ भन्दै झन व्यंग्य गर्न भ्याए । प्रचण्डले निरंकुश र तानाशाही जन्माउने षड्यन्त्रको संज्ञा दिए । दाहालअघि मन्तव्य राखेका नेकपा एसका अध्यक्ष नेपालले पूर्वराजातर्फ संकेत गर्दै पार्टी खोल्न र व्यापार गर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।
जे भएपनि काँग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा देश झल्किने विविधतासहितका विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुतले भने भृकुटीमण्डपमा भेला भएका र स्कृन हेरेर उभिएका जनहरुमा उत्साह र उमंग भरिरहेको थियो ।
प्रदर्शनी स्थल उम्मेदवारका पर्चा–पम्प्लेट–पोस्टर र पार्टी झन्डाले सजिएका छन् भने पर्यटन बोर्ड अगाडि र पद्मोदय मोड भित्री भागमा सर्वसाधारणका सवारी प्रवेश निषेध गरिएको छ । महाधिवेशनलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ ।
पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो बन्द सत्र
यसैबीच नेपाली कांग्रेसको बन्दसत्र समापन भएको छ । शुक्रबार भृकुटीमण्डपमा राति पौने ९ बजे बन्दसत्र सुरु भएको थियो ।
बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पास भएका छन् ।
प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्दसत्र समापन गरेका छन् । बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उनी पक्षका नेताहरुको उपस्थिति नभएका हुन ।
