जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना कोषबाट १० करोड रुपैयाँ निकासा गर्ने भउको छ । पीसीएमसीको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो ।
२५ करोड रुपैयाँको कोष प्रदेश सरकारले यस अघि स्थापना गरेको थियो । कोभिड–१९ नियन्त्रण तथा उपचार प्रयोजनका लागि रकम अभाव भएपछि थप १० करोड निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाका लागि उपलब्ध जनशक्तिको व्यवस्थापन गर्दै थप जनशक्ति लोक सेवा आयोगमार्फत थप गर्ने प्रक्रिया अघि बढाइने प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । हाल प्रदेशका कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल, जिल्ला अस्पतालहरूमा हुने गरेको छ र दीर्घकालीन समाधान नरहेकोले तत्काल वैकल्पिक स्थलमध्ये मणिपाललाई कोभिड विशेष अस्पतालमा परिणत गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको जनाएको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले प्रयोगशाला र अस्पताल व्यवस्थापनमा जोड दिने जनाएको छ । यसका लागि जनकपुरधामस्थित प्रस्तावित मणिपाल मेडिकल कजेलको संरचनामा कोभिड विशेष अस्पताल बनाउने निर्णय प्रदेश दुइले गरेको छ ।
