काठमाडौं । कैलालीको टिकापुर घटनामा दोषी ठहर गरिएका पूर्व सांसद् रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सोमबार कारागारबाट छुटेका छन् । संविधानको मस्यौदामा थरूहट प्रदेश नभएको विरोधमा २०७२ भदौ ७ मा टिकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
सो घटनाका मुख्य योजनाकार र अभियुक्तका रूपमा रेशमलाई अभियोजन गरिएको थियो । यस घटनालाई हत्याकाण्डको रूपमा मात्र नभई राजनीतिक प्रकृतिका घटनाका रूपमा लिई सरकारले सर्वोच्च अदालतका पूर्र्वन्यायाधीशको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।
चौधरीसहित ५८ जना विरुद्ध अभियोजन गरिएको थियो । जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्चले सदर गरेको केही साता नबित्दै आम माफी दिइएको हो ।
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो।
आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७२ भदौ २ मा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने, सहिद परिवारलाई आजीवन निशुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो ।
मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भनेको थियो ।प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरेका थिए ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकामा दिउँसो भएको घटनामा परि मृत्यु हुनेहरूमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका थिए ।
यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीलाई भने प्रदर्शनकारीहरूले जिउँदै जलाएर हत्या गरेका थिए । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षिय बालक टेकबहादुर साउद समेत रहेका थिए ।
मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो । टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित गराइएका थिए । तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो ।
बरिष्ठ प्रहरी उपरिक्षक न्यौपाने तिन दिन देखी टिकापुर क्षेत्रमैँ शान्ति सुरक्षामा खटिएका थिए । प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरू घरेलु हतियार सहित हजारौको सङ्ख्यामा टीकापुर प्रवेश गरी त्यहाँका सरकारी कार्यालयहरू माथि आक्रमण गर्ने जानकारी पाए पश्चात् एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो ।
टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीहरूको भीडलाई प्रहरीले शिव मन्दिर नजिकबाट लखेटेको थियो । जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
थारुवान संयुक्त सङ्घर्ष समितिले बिज्ञप्ती जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका थिए । समितिले शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना घटेको दावी गरेको थिए ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए ।
वारेस मार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाली समक्ष आत्मसमर्पण गरेका थिए । जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए ।
जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला र ११ जनालाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत र उच्च अदालतबाट भएका फैसलालाई सर्वोच्च अदालतले जेठ २ गते सदर गरेको थियो ।
