भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गलकोटेलाई पोखराका अस्पतालमा छुट

गलकोटेलाई पोखराका अस्पतालमा छुट

गलकोट । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।

गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छुट सुविधा सधँैका लागि हो ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि जाने जो–कोहीले समाजको सिफारिसपत्रका आधारमा अस्पतालमा छुट पाउँछन् । सम्बन्धित स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजात लिएर आएमा सिफारिस दिने गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

“बिरामी जुनसुकै समयमा आए पनि सिफारिसपत्र दिन्छौँ, कुनै शुल्क लाग्दैन”, उहाँले भन्नुभयो, “हामीले यही अस्पतालमा आउनुस् त भन्दैनौँ, तर खोज्दै आउने बिरामीलाई उपचारमा सहजीकरण गर्छौँ ।” गाउँबाट आउने बिरामीले अर्थाभावमा उपचारमा समस्या झेलिरहेको देखेपछि समाजले छुटका लागि पहल लिएको हो ।

एक्स–रे, प्रयोगशाला सेवालगायतमा पनि बिरामीले छुट पाउँछन् । गरिब तथा विपन्न परिवारका बिरामीले उपचारै गर्न नसक्ने स्थितिमा समाजले आर्थिक सहायताका लागि कोषसमेत खडा गरेको छ । “पैसा नभएर उपचारबाट बञ्चित भएकालाई समाजले नगद सहयोग पनि गर्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

जटिल स्वास्थ्य समस्या हुँदा यहाँका बिरामी उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल जिल्लामै रहे पनि सोहीअनुसारको उपचार सेवा उपलब्ध हुनसकेको छैन । पूर्वाधार, उपकरण र मानव संशाधन अभावमा स्थानीय अस्पतालको सेवा प्रभावकारी हुन नसकेको हो ।

पोखराजस्तो ठूलो सहरका अस्पतालले गाउँका बिरामीलाई लक्ष्य गरी छुट सुविधा दिँदा आधारभूत तहका सर्वसाधारणलाई राहत मिलेको छ । समाजले त्यहाँका अन्य अस्पतालमा पनि छुटका लागि पहल गर्ने जनाएको छ । “यो त सुरुआत मात्र हो, छुटको दर बढाउन हाम्रो निरन्तर प्रयास रहन्छ”, अध्यक्ष थापाले भन्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.