भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

गाउँसभाबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पालिकास्तरीय अस्पताल बनाउने ठाउँको टुङ्गो लगाएको छ । गाउँपालिकाको कार्यालय रहेको मुनामा मङ्गलबार सम्पन्न गाउँसभाले वडा नं ७ को ताकममा पाँच शय्या क्षमताको अस्पताल बनाउने सर्वसम्मत निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले अस्पताल बनाउने ठाउँको टुङ्गो लगाइनुका साथै यसअघि छरिएर राखिएका शाखा कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । वडा नं ३ को सातमुलेमा गाउँपालिकाको स्थायी केन्द्र कायम गरेको विसं २०७४ साउन २५ गतेको गाउँसभाले अन्य विषयगत शाखा कार्यालय वडा नं ७ र ३ बाट सञ्चालन गर्ने तथा वडा नं ७ मा पर्ने धारापानीमा १५ शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

“तीन वर्षअघिको निर्णय संशोधन भएपछि ताकममा अस्पताल बनाउने र शाखा कार्यालय गाउँपालिका रहेकै ठाउँबाट सञ्चालन गर्ने कानूनी बाटो खुलेको छ”, अध्यक्ष पुनले भन्नुभयो, “यसअघि अस्पताल बनाउने निर्णय भएको धारापानीमा स्वास्थ्यचौकी बनाउने र साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीलाई छुट्टै वडा कायम गर्न प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको छ ।” शाखा कार्यालय एकै ठाउँमा नहुँदा र छरिँदा नागरिकलाई सेवा प्राप्त गर्न सास्ती, झन्झट र दुःख भएको भन्दै गाउँसभामा कार्यालय एकीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । वडा नं १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल प्रस्तावक रहनुभएको उक्त प्रस्तावमा गाउँसभाका ३७ मध्ये २२ जनाले पक्षमा मतदान गरेपछि बहुमतको आधारमा पारित भएको हो ।

सभाको निर्णयसँगै हाल ताकमबाट सञ्चालित स्वास्थ्य, कृषि र पशु सेवा तथा शिवाङमा राखिएको शिक्षा शाखा हाल गाउँपालिकाको अस्थायी कार्यालय रहेको मुनाबाटै सञ्चालन हुने भएका छन् । स्थायी केन्द्र कायम गर्ने क्रममा गाउँसभाले धारापानीमा १५ शय्याको अस्पताल बनाउने निर्णय गरे पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ताकममा अस्पताल बनाउने ठाउँ छनोट गरेपछि विवाद उत्पन्न भएको थियो । ठाउँको विवादले मङ्सिर १५ गतेलाई तय गरिएको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रोकिएपछि सेवा केन्द्र एकीकृत र ताकममा अस्पताल बनाउने विषयमा सर्वपक्षीय बैठकको सुझावका आधारमा गाउँसभा बोलाइएको थियो । सर्वोच्च अदालतमा विचाराधीन रहेको गाउँपालिकाको स्थायी केन्द्रको विवादलाई थाँती राखेर नागरिकलाई एकै ठाउँबाट सहज हिसाबले सेवा उपलब्ध गराउन शाखा कार्यालय एकीकृत र अस्पताल बनाउने ठाउँ छनोट गरिएको अध्यक्ष पुनले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.