भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

छठ पर्वको महत्व र दोस्रो दिन

छठ पर्वको महत्व र दोस्रो दिन

काठमाडौं । छठ पर्वको आज दोस्रो दिन विविध कार्यक्रम गरि मनाइँदै छ । आजको दिनलाई ‘खरना’ पनि भनिन्छ । छठका व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँने गर्दछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्ने चलन छ । सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् ।

सोमबारदेखि व्रत बसेका व्रतालुले सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदीको भोजन गर्न पाउँदैनन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व शुक्ल सप्तमीसम्म मनाइन्छ । विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवीको छठमा विशेष पूजा गरिन्छ । छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथामा आधारित छ ।

छठलाई एउटा कठिन व्रत र उपवासको रूपमा पनि हेरिन्छ । व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

यस पर्वको महत्वः
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ छठ पर्व मनाईन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड हो छठ । तराईका सबैले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यो एउटा यस्तो पर्व जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । षष्ठी तिथिमा मानिने हुनाले यसलाई छठ भनिएको हो । छठ भनेको छैँटो तिथि अर्थात् छ अंक को प्रतिकात्मकस्वरुप यसलाई यस्तो नाम दिईएको हो ।

यो पर्व चतुर्थीको दिनदेखि सुरु भए तापनि षष्ठी तिथिमा अस्ताउन लाग्दाखेरीको सूर्यलाई पूजा गरी अर्घ्य दिएपछि त्यो रातभर जाग्राम बसी भोलिपल्ट सप्तमीको सूर्योदयमा सूर्यको पूजा गरी पुनः सूर्यलाई अर्घ्य दिएपछि मात्र यो ब्रतको समापन गरिन्छ ।

त्रेता युगमा भगवान श्रीरामले सीतालाई अयोध्यामा लिएर आउँदा सरयु नदीमा स्नान गरी यहीँ कार्तिक शुक्ल षष्ठीको दिन अस्ताउँदो सूर्यास्तलाई अर्घ्य दिएर यो ब्रतको सुरुआत भएको मानिन्छ ।

सूर्यनारायणको उत्पत्तिको विषयमा विभिन्न पौराणिक ग्रन्थहरुलाई आधार मान्दा पालनकर्ता विष्णुको नाभिबाट उम्रिएको कमलको फूलमाथि आविर्भाव हुनु भएका सृस्टिकर्ता ब्रह्माजीको मनबाट मरिचि ऋषि र उनीबाट कश्यप ऋषिको जन्म भयो । कश्यप र अदितिबाट विवश्वान सूर्यको जन्म भएको कुरा पौराणिक कथाहरुमा पाईन्छ ।

उनको मृत अण्डमा प्रवेश गरी हिरण्यमय अर्थात् ज्योतिर्मय भई विश्वब्रह्माण्डमा प्रकाशित भएकोले साक्षात् नारायणस्वरुप मानेर पूजा गरिन्छ । सूर्यका १२ वटा नाम छन् । तिनै नामका आधारमा महिनाका नामहरु बनेका छन् । सूर्यकी पत्नीको नाम संज्ञा हो । उनी विश्वकर्माकी छोरी हुन् ।

उनीबाट छाँया र सावर्णी मनुको र तपति नाम भएकी एक पुत्रीको जन्म भएको थियो । ब्रम्हाण्डमा रहेका ९ ग्रहहरुमध्ये सूर्य प्रमुख ग्रहको रुपमा मानिन्छन् ।

सूर्यका अन्य १०८ वटा नामहरु पनि रहेकाछन्, सूर्य प्रत्यक्ष आँखाले देख्न र दर्शन गर्न र अनुभव गर्न सकिने देवताको रुपमा लिएको छ । हामीले दिनदिनै उच्चारण गर्ने सातवटा बारका नाम पनि सातवटा ग्रहकै नामहरु हुन् । सूर्यको बारलाई हामी रबिवार अर्थात् आईतबार भन्दछौँ ।

कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको शुक्ल चतुर्थीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । पहिलो दिन (चतुर्थीका दिन)लाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिन खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।

पञ्चमी तिथि दोस्रो दिनलाई ‘खरना’ संरक्षण अर्थात् पापको क्षय भनिन्छ । खरना छठ पर्वको दोस्रो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.