दार्चुला । सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरु संचारसंग जोडिदै छ । नेपाल टेलिकमको टावर जडान हुने भएपछि घाजिरलगायतका बस्तीमा सञ्चारको पहुँच हुने भएको हो ।
सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी अहिले तिव्रताका साथ टावर जडानको कार्य भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । नागरिक फोन गर्न वडा नम्बर ४ को गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो भन्दै सो क्षेत्रमा छिट्टै टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष मन्यालको भनाइ छ ।
यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ । गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको बताए ।
