जंगलमा ढुकेर भागरथीको हत्या भयाे

जंगलमा ढुकेर भागरथीको हत्या भयाे

काठमाडौँ । दुई सातापछि प्रहरीले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की भागरथी पढ्ने विद्यालयमै ११ कक्षामा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका ती किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले बताए ।

भागरथी र दिनेश नाता लाग्ने बताइएको छ । हत्या आरोपमा पक्राउ परेका व्यक्ति पहिलेदेखि नै उच्च निगरानीमा राखेको भन्दै डीआईजी सुवेदीले प्रमाण जुटाउन लागिरहेको बताएका थिए । प्रमाण हात परेपछि उनलाई समातेको सुवेदीको भनाई छ । बयानका क्रममा आफूले हत्या गरेको ती व्यक्तिले स्वीकारिसकेको सुवेदीले बताए । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भागरथीको हत्यामा अहिलेसम्म दिनेशबाहेक अरू कोही संलग्न नदेखिएको बताएका छन् ।

अनुसन्धानले ऊ एक्लै संलग्न देखिएको र अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरू आएपछि थप तथ्यहरू बाहिर ल्याउने पत्रकार समक्ष बताएका छन् । पुरानो रिसिइबीका कारण दिनेशले माघ २१ भागरथीलाई सुरुमा धकेलेर लडाएको बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको खुलेको छ । घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेको बयानमा बताएका छन् ।

प्रहरीका अनुसार बयानमा उनले भनेको कुरा
‘म पहिले नै भागरथी दिदी आउने बाटो कुरेर बसेको थिएँ । दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर हत्या गरेँ ।’ दिनेश र भागरथीको घर १५ मिनेटको पैदल दूरीमा छ ।

नाताले दिनेश भागरथीको भाइ पर्छन् । प्रहरीसँगको बयानमा पनि उनले दिदी नै भनेका छन् । माघ २१ गते घर नफर्केपछि भागरथीको खोजी भएको थियो । त्यसको भोलिपल्ट साँझ घर नजिकैको जङ्गलमा उनी मृत फेला परेकी थिइन् ।

कसरी समातिए दिनेश ?
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा दोषी पक्राउ गर्न नसकेर आलोचित बनेको प्रहरी भागरथीको घटनामा साख बचाउने दाउमा थियो । घटनाको तेस्रो दिन माघ २३ गते शुक्रबार तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको अनुसन्धान अधिकारी र चिकित्सकसहितको टोलीले विभिन्न कोणबाट अनुसन्धान गरी प्रमाणहरू संकलनमा जुट्यो ।

घटनापछि अनुसन्धानमा खटाइएको तालिमप्राप्त कुकुरले मृतक भागरथीको मोबाइल, शव भेटिएको ठाउँभन्दा केही पर फेला पार्यो । त्यसपछि कुकुरले घटनास्थल नजिकै रहेको खोचलेक बजारतर्फ संकेत गर्यो । त्यही आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढायो । प्रहरीले कुकुर डुलाउँदै विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरू भएको घटनास्थलमा पुर्‍याउने ग¥यो । तर दिनेश भने गोरु चराउने निहुँ गरेर घरमै बसे ।

त्यो बेलासम्म दिनेशमाथि कसैले शंका गरेन । कुकुरले सुँघेर आफूलाई पत्ता लगाउन सक्छ भन्ने त्रासका कारण दिनेश घटनास्थल नगई गोठालो गएका रहेछन् । अनेक कोणबाट अनुसन्धान गरिरहेको प्रहरी टोलीले उनको गतिविधि सूक्ष्मरूपमा नियादै थियो । अनुसन्धान अधिकारीसंग शुरूमा दिनेशले झुटो बोल्ने, झनक्क रिसाउने, आक्रामक हुने, चिढिने, झर्किने जस्ता व्यवहार देखाए । त्यसपछि अनुसन्धान अधिकारीले विभिन्नकोणबाट प्रश्न सोध्दै गए
यता दिनेश बिस्तारै गल्दै गए ।

अन्तत दिनेशले बयान र सबुत प्रमाण दिन बाध्य भए । सबुत प्रमाणका आधारमा प्रहरीले फागुन ४ गते उनलाई घरबाट नै पक्राउ गर्यो । त्यसभन्दा पहिले दिनेश
भागरथीको हत्यामा न्याय माग्दै प्रदर्शनमा दैनिक जाने गरेको उनका साथीहरुले बताए । जुलुशमा पनि दिनेशले शंकास्पद गतिविधि देखाउदा प्रहरीले निगरानी गरिरयो ।

एकै स्कुलका छात्र र घटना हुने दिन
सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते बिहान स्कुल गइन् । घर फर्किनन् । परिवारजनले खोजी गरे तर अवस्था पत्ता लाग्न सकेन ।अर्को दिन लवलेक सामुदायिक वनमा उनको शव भेटियो । घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा उनको शव विभत्स थियो । भागरथी केही साथीहरूसँगै दिउँसो २ बजे विद्यालयबाट निस्किएकी थिइन् ।

खोचलेक बजार पुगेपछि केटा साथीहरू कपाल काट्न रोकिए । भागरथी र उनका केटीसाथीहरू घरतर्फ लागे भने केही साथी चप्पल सिलाउन भन्दै बीचैमा रोकिए । बजारमा कपाल काट्न लागेका केटा समूहमा रहेका दिनेश हतार हतार गर्दै एक्लै निस्किए । दिनेश छिटोछिटो हिँडेर भागरथी भन्दा अगाडि गए । लवलेक जङ्गलको खोँचमा पुगेर भागरथीको बाटो ढुकेर बसेको प्रहरीको भनाई छ ।

भागरथी त्यहाँ पुगेपछि दिनेशले आक्रमण गरे । दिनेशसँग भागरथीको प्रतिकार भयो तर असफल । अन्तत दिनेशले करिब पौने तीन बजे भागरथीको बलात्कार पछि हत्या गरे । दिनेशले अपराध स्वीकार गरेका छन् भने भागरथीको पोस्टमार्टम रिपोर्टले पनि बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.