भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सेवाबाट निर्मित स्वास्थ्य सेवा केन्द्रबाट व्यापक जनताको सेवा हुने बताएका छन् । भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगरमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रजापतिले जनताको सहयोगबाट निर्मित स्वास्थ्य सेवा केन्द्र बाट व्यापक जनताको सेवा गर्दै संस्थाको भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनतिर नपाले ध्यान दिने बताए । उनले उपभोक्ता समितिमार्फत निर्मित स्वास्थ्य सेवा भवनको गुणस्तरीयतामा कुनै खोट नहुने बतादै जनताको अपनत्व रहने उल्लेख गरे ।
भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले ४५५ जना कोभिड संक्रमितहरुको सेवा गरिसकेको अवगत गराउदै उनले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका क्रममा स्थानीय जनता र विभिन्न संघ संस्थाहरुबाट प्राप्त आर्थिक तथा नैतिक सहयोगले जनताको सेवा गर्न अझ उत्साह मिलेको बताए ।
प्रमुख प्रजापतिले विगत लामो समयदेखि डुबानमा पर्दै आएको सिर्जनानगर नपली क्षेत्रलाई सुरक्षित बनाउने काम नगरपालिकाले गरेको बताउदै भक्तपुर नपाले आवश्यकतालाई प्राथमिकतामा राख्दै विकास निर्माणका गतिविधि अगाडि बढाइरहेको अवगत गराए । उनले विदेशी संघ संस्थाको सहयोगले कहिल्यै आत्मनिर्भर नबनाउने बताउदै भक्तपुर नपाभित्रकापर्ति जग्गा अतिक्रमण हुनबाट रोक्न त्यसको संरक्षण गर्ने कामहरु गर्दै आइरहेको बताए ।
भक्तपुरको सल्लाघारीमा अवस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्य नगरपालिकाको रहँदै आएको बताए । उनले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने योजना रहेको बताए ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिए । भक्तपुरको रानीपोखरी पुनःनिर्माण करिब करिब अन्तिम चरणमा पुगिसकेको बताउदै उनले छिटै सर्वसाधारणको लागि खुल्ला गर्ने तयारीमा रहेको जानकारी दिए ।

