भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । शुक्रबार सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।
नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाईज्ञापन गर्दै स्थानीय तह निर्वाचन २०७९ मा नेमकिपालाई अत्यधिक बहुमतका साथ विजयी गराउन सहयोग गर्ने मतदातालगायतलाई पार्टीको तर्फबाट धन्यवादज्ञापन गरे ।
भक्तपुर नपाका जनप्रतिनिधिले पार्टीको घोषणापत्रअनुरुप नगर र नगरबासीहरुको हितमा काम गर्न सफल हुने विश्वास व्यक्त गर्दै सांसद सुवालले जनप्रतिनिधिहरुले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिए । निर्वाचनमा सिद्धान्तहीन गठबन्धनको कुनै औचित्य नरहेको प्रष्ट पार्दै सांसद सुवालले देको मिवा इतापाको आयोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा अत्यधिक मत दिएर सहयोग गरेका सम्पूर्ण मतदाताहरुमा धन्यवादज्ञापन गर्दै जनप्रतिनिधिहरु सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुनअनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाले हासिल गरेको सफलताबाट सिंगो देश जितेको अनुभव व्यक्त भएको बताउँहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले हिजोका दिनमा झैं अविचलित रुपमा जनताको सेवा गर्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पुनःनिर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिदै मतगणनाको कार्य अरु जिल्लाको तुलनामा भक्तपुरमा छिटो सम्पन्न भएको बताइन ।
समारोहमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन प्रक्रिया सुधार गर्नुपर्ने, निर्वाचन भएकै ठाउँमा मतगणनाको व्यवस्था गर्नुपर्ने र मतदान केन्द्रहरुको सुधार आवश्यक रहेको बताए । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गरेका थियो । कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले फूलमाला र खादाले स्वागत गरेका थिए ।
शपथ ग्रहणमा वडाध्यक्षहरुमा भक्तपुर नपा वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नं. ४ का उपेन्द्र सुवाल, वडा नं. ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का हरिराम सुवाल, वडा नं. ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रबिन्द्र ज्याख्व र १० नं. वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।
