मोरङ । जाडो छल्नका लागि विदेशी चरा नेपाल आइपुगेका छन् । विगतमा जस्तै यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्र, हरियाली र तराईका फाँटमा रमाउन चरा नेपाल आएको चरा विज्ञ बताउँछन् ।
मङ्सिरको आगमनसँगै हिउँदे चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा अहिले चराहरुको बासस्थान बनेको जानकार बताउँछन् ।
कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिएको बताइएको छ । झुण्ड–झुण्डमा चरा आउँन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क छ ।
जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको गौतमले बताए । हजारौँको सङ्ख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को सङ्ख्या घट्दो क्रममा रहेको प्रमुख गौतमले बताए ।
नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरियासम्मका चरा बेतनामा हेर्न पाइन्छ । बेतना सिमसारमा ४९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसमा ७० प्रतिशत स्थानीय, १८ प्रतिशत हिउँदमा आउने पर्यटक चरा र १२ प्रतिशत गर्मीमा आउने पर्यटक चरा रहेका छन् ।
उत्तरी धुर्वमा हिमपातको सुरूआतसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ चरा बसाइँसरी आउने गर्छन् ।
