जुम्ला । जुम्लादेखि मुगुको रारासम्म ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका हुन् ।
चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी भएका थिए ।
कीर्तिमानी धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता गरिएको हो । दौडमा १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी भएका छन् ।
५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएको आयोजक कर्णाली स्पोर्स्ट क्लबले जनाएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभई कर्णालीकै शिर उच्च राखेको मुख्यमन्त्री शाहीले बताए ।
प्रदेश सरकारले यसको लागि आवश्यक सहयोग गर्ने शाहीले बताए ।मुख्यमन्त्री शाहीले बैकुण्ड मानन्धर जस्ता खेलाडीको साथ सहयोग समेत भएकोमा खुशी व्यक्त गरे ।
विश्व रेकर्ड राख्ने कर्णालीले क्षमताको प्रदर्शन गर्ने सन्देश दिएको उनको भनाइ छ । जुम्ला सदरमुकाम खलंगादेखि मुगुको राराताल सम्म उक्त प्रतियोगिता संचालन भएको जसमा प्रथम हुने खेलाडी महिला र पुरुषलाई एक–एक लाख धनराशीको पुरस्कार दिइने छ ।
