काठमाडौँ । आइतबार टोखामा भएको गोलीकाण्डले नेपाल प्रहरीको अनुसन्धानमा नयाँ पाटो थपेको छ । खासगरी नक्कली भारतीय नोटको कारोबारको आरोपमा शृंखलाबद्ध हत्या हुँदा अनुसन्धानमा हच्किने प्रहरीले यस्तै आरोपमा फरार रहेका गुड्डु पटेललाई पक्राउ गर्न गोली नै चलाएको छ । अढाई वर्षअघि भएको हत्याका अर्का आरोपित बब्लु पासवान र तीन सहयोगी यसअघि नै पक्राउ परेका छन् ।
२०५५ मा सांसद मिर्जा दिलसाद वेग, २०६६ मा सञ्चार उद्यमी जमिम शाह, २०६६ मा नेपालगन्जका व्यवसायी अब्दुल मजिद र २०६८ मा इस्लामिक संघका महासचिव फैजन अहमदको हत्यामा भारतीय खुफिया एजेन्सी ‘रअ’ को हात रहेको विश्वास छ तर नेपाल प्रहरीको अनुसन्धान अधुरै छ । यो बीचमा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा हत्याका दर्जन शृंखला यसै गरी चले पनि नेपाल प्रहरी बेखबरजस्तै बन्दै आएको छ । तर, नक्कली भारतीय नोटकै कारोबारको पृष्ठभूमि भएका लाल मोहम्मद अन्सारीको हत्या आरोपमा भने प्रहरीले आरोपितहरूलाई पक्राउ गरिरहेको छ ।
सीमावर्ती भारतीय बस्ती रक्सौल घर भएका पटेलले नेपाल–भारत सीमा क्षेत्रमा अपहरण र फिरौतीको आतंक मच्याउँदै आएको आरोप छ । लाल मोहम्मद अन्सारीको हत्याका लागि भारतीय खुफिया एजेन्सी ‘रअ’ ले बब्लु पासवान र गुड्डु पटेललाई प्रयोग गरेको अनुसन्धानकर्मीहरूको दाबी छ । पासवानलाई गत वैशाखमै पक्राउ गरिएको छ । तीन सहयोगी भने घटनालगत्तै पक्राउ परेका थिए ।पटेललाई टोखामा गोली चलाएर पक्राउ गरिएको प्रहरीको दाबी छ । दायाँ खुट्टामा गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सीमा क्षेत्रबाट पक्राउ गरेर ल्याउने र काठमाडौंमा पक्राउ गरेको देखाउने ‘खेल’ पनि प्रहरीले प्रयोग गर्दै आएको छ ।
गोठाटारमा गार्मेन्ट उद्योग चलाउने अन्सारी २०७९ को असोज २४ मा उद्योग परिसरमै मारिएका थिए । नक्कली नोटको कारोबारी मानिएका अन्सारीलाई अढाई वर्षअघि डेढ सातामा दोस्रो पटक आक्रमण गरी हत्या गरिएको थियो । पहिलो पटक उनलाई सामान्य चोटपटक मात्र लागेको थियो । ‘भौतिक आक्रमण भएको र आफू असुरक्षित रहेको भन्दै उनले उजुरी दिएका थिए । तर, कोबाट असुरक्षित हो भन्ने उनले बताउन चाहेनन्, १० दिन पुग्दा नपुग्दै उनको हत्या भयो,’ प्रहरीले त्यतिबेलै भनेको थियो । मोटरसाइकलमा आएका दुई जनाले लगातार गोली बर्साउँदा गम्भीर घाइते भएका ५७ वर्षीय अन्सारीलाई सुरुमा शंखरापुर अस्पताल र पछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा अन्सारी भारतीय खुफिया एजेन्सीको निगरानीमा रहेको जानकारी प्रहरीसँग थियो । २०६४ असार २० मा बाराका बलराम पटुवालाई अनामनगर, धोबीखोला करिडोरमा गोली हानी हत्या गरेको आरोपमा अन्सारी र पप्पु गुप्ता पक्राउ परेका थिए । इल्ताफ हुसेनसँगको मिलेमतोमा अन्सारीसमेतले हत्या गराएको प्रहरी अनुसन्धानले पुष्टि गरेको थियो ।
इल्ताफ तत्कालका लागि भाग्न सफल भए भने पक्राउ परेका अन्सारी र गुप्तालाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०६४ साउन ९ मा कारागार चलान गरेको थियो । नौ वर्ष जेल बसेर २०७३ जेठ २५ मा रिहा भएका उनी जेल जानुअघि र पछि पनि जाली नोट कारोबारमा जोडिएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।
प्रहरीको प्रतिआतंकवाद निर्देशनालय र पछि विशेष ब्युरोको अनुसन्धानमा पनि अन्सारीको सम्बन्ध र निकटता भारत, पाकिस्तान, बंगलादेश र दुबईमा रहेका गिरोहसँग खुलेको थियो ।सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका स्थायी बासिन्दा अन्सारीले जेलबाट छुटेपछि तयारी पोसाकसम्बन्धी उद्योग पनि चलाइरहेका थिए । उनी लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत नामबाट चिनिन्थे ।
सुन तस्करी प्रकरणमा २०७७ साउनमा पक्राउ परेका इल्ताफविरुद्ध भने सम्पत्ति शुद्धीकरणसहितका मुद्दा चले । उनीविरुद्ध २०६८ सालमा काठमाडौं जिल्ला अदालतमा खोटा मुद्रा चलनमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार जाली नोट कारोबारमा उनले आफूलाई मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारीका रूपमा चिनाउने गर्थे । प्रहरीले उनीविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा पनि मुद्दा चलाएको थियो । २०६८ साउन १६ मा दायर भई २०६९ कात्तिक २० मा भएको फैसलाअनुसार उनी एक वर्ष कैद र ५० रुपैयाँ जरिवानामा सजाय भोगेर बाहिरिए ।
भारतीय खुफिया एजेन्सीले आफ्नो अपरेसनमा कुख्यात अपराधीलाई पनि परिचालन गर्दै आएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । तर, कतिले ‘भारतीय राष्ट्रवाद’ को खोल ओढेर आफूलाई महान् बनाउँदै आएका छन् । सांसद मिर्जा दिलसाद वेगको हत्या आफूले गराएको दाबी गर्दै ‘अन्डरवर्ल्ड’ डन छोटा राजनले भारतका दुश्मनको हविगत यस्तै गराउने चेतावनी दिँदै आएका थिए ।
त्यस्तै २०६६ माघ २४ मा जमिम शाहको हत्या आफूले गराएको दाबी गर्ने बब्लु श्रीवास्तवले त यसका लागि भारतीय खुफिया एजेन्सीले आफूलाई जिम्मेवारी दिएको दाबी गरेका छन् । ‘रअ’ का ‘हिटम्यान’ लकी विष्टले समेत किताब तथा अन्तर्वार्ताहरूबाट यही तथ्यको खुलासा गरेका छन् ।नक्कली नोटको कारोबारको आरोपमा हत्या शृंखला वर्षौंदेखि जारी छ । २०६६ असोज १९ मा नेपालगन्जका व्यवसायी अब्दुल मजिद मनिहारलाई गोली हानी मारिएको थियो । हत्यामा भारतीय कुख्यात अपराधी मनमित सिंह भनिने मनमित भाटियाको संलग्नता खुलेको थियो । उनले नै युनिस अन्सारीलाई केन्द्रीय कारागारभित्रै हत्या गर्ने प्रयास गरेका थिए । उनलाई कारागार बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै इस्लामिक संघका महासचिव फैजान अहमद काठमाडौंको घण्टाघरमा मारिएका थिए । त्यस्तै २०७५ असोज ४ मा सुनसरीका विद्यालय सञ्चालक खुर्सिद आलम गोली प्रहारबाट मारिएका थिए । यस्ता घटनामा नेपाल प्रहरी अनुसन्धानको गहिराइमा पुग्न सकेको छैन ।कान्तिपुरबाट…
