काठमाडौं । संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गर्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।
विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए । डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए ।
नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भई रहेको र त्यसले एनआरएनएलाई पनि सहज हुने उनले बताए । त्यसैगरी आईपीओको विषयमा निश्चित प्रतिशत छुट्याउनेगरी नीति बनाउने योजना भई रहेको उनले बताए ।
कार्यक्रममा अर्थ सचिव मधु मरासिनी तथा नेपाल राष्ट्र बैंककी कायममुकाम गभर्नर डा नीलम ढुंगानाले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए।
