भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

डिलाशैनीमा ११ दिनका लागि लकडाउन

डिलाशैनीमा ११ दिनका लागि लकडाउन

बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ । मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय सङ्क्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।”

मङ्सिर २६ गतेसम्म हुने लकडाउनको अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने र गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेकका सबै सेवा बन्द हुने शाहको भनाइ छ । यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ । लकडाउनको अवधिमा दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्था हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ ।

यस्तै लकडाउनको अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्था, एम्बुलेन्सलगायतका सेवा पनि सञ्चालन हुने जनाइएको छ । पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ । यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मङ्सिर २२ सम्म लकडाउन गरेको छ । बैतडीमा हालसम्म ५६८ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ४९९ ले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रेडक्रसका सेवा बन्द

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाले मङ्सिर २२ गतेसम्मका लागि लकडाउन गरेकाले सोही दिनसम्म रेडक्रसले शाखामार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको हो ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ । आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसिरहेको उहाँले बताउनुभयो । पछिल्लो एक हप्ता सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न उहाँले आग्रह गर्नुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.