डोल्पाका तीन पालिकामा अध्यक्ष निर्विरोध

डोल्पाका तीन पालिकामा अध्यक्ष निर्विरोध

सुर्खेत । स्थानीय तहको निर्वाचनअन्तर्गत डोल्पाका तीन पालिकामा एकल उम्मेदवारी परेसंगै पालिकाका अध्यक्ष र केही वडाहरूमा निर्विरोध नेतृत्व चयन भएको छ। काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा एकल उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगले प्रक्रिया पुर्‍याएर यसको घोषणा गर्ने जनाएको छ । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार राना निर्विरोध निर्वाचित भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका हुन् । यो गाउँपालिकाका वडाध्यक्षहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए। यस्तै डोल्पाको छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीकै उम्मेदवार सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्जार्ज प्रकाश ज्वालाले डोल्पाबाट आफ्नो पार्टीले स्थानीय तहमा खाता खोलेको बताए । डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा समाजवादीकै पेमा वाङ्जु गुरुङको एकल उम्मेदवारी परेको छ ।

काइकेको अध्यक्षमा निर्विरोध चयन भएका राना र छार्काताङसोङ अध्यक्षमा निर्विरोध भएका गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए । उनीहरू दुवैजना केही साता अघिमात्र एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यता शेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक लामाको मात्र उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएको एमाले कर्णाली प्रदेशले जनाएको छ । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै छार्काताङसोङ लामा निर्विरोध भएकी छन् ।

यस्तै गाउँपालिकाका वडाहरूमा पनि एकल उम्मेदवारी परेको छ । मुस्ताङको पाँच स्थानीय तहमध्ये दुई तहको ६ वडामा निर्विरोध भएको छ । लोघेकर दामोदरकुण्डका ३ र घरपझोङ गाउँपालिकाका ३ वडामा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ। यता मुस्ताङको घरपझोङ गाउँपालिका १ र २ मा नेपाली कांगे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन्। घरपझोङको १, २ र ५ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो ।

 


Thali Mobile Pvt.Ltd.