काठमाडौं । अन्तिम चरणको पेट्रोलियम पदार्थ अन्वेषण काम पुरा गर्न चैत १९ (अप्रिल १)मा चिनियाँ विज्ञ टोली नेपाल आउदै छ । यो टोलीले दैलेखमा पेट्रोलियम पदार्थ खानीको अवस्था र व्यवसायिक उत्खनन्को टुंगो लगाउनेछ ।
यो चरणमा स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्ने बताइएको छ । पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताएका छन् ।
विज्ञसहितको टोलीमा २३ जना रहने छन् । ३५ मिटरसम्म लामो फलामे पाइप लैजानुपर्ने तर, सडक साँघुरो र घुम्तिहरु सानो भएकाले अन्वेषणको काम आपूर्तिमा चुनौती देखिएको छ । दैलेखको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण सम्पन्न भएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढ्न लागेको हो । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्ति चरणको सर्वेक्षणको काम गरिने बताइएको छ ।
दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्वर गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।
