भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ । आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो ।

एशियाली विकास बैंकको ७०, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र स्थानीय समुदायको पाँच प्रतिशत लगानीमा सो आयोजना सम्पन्न गर्ने सम्झौता भएको थियो । जिल्ला सदरमुकाम लिवाङको घना बस्ती रहेको रोल्पा नगरपालिका वडा नं १, २ र ४ का एक हजार ६० घरघुरीलाई लक्षित गरी सो आयोजना सम्पन्न गर्न लागिएको हो । आयोजनाको कूल ठेक्का रकम रु ३१ करोड ५२ लाख ४२ हजार ९४६ रहेको छ ।

आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो । कोरोना महामारीको विषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष आचार्यको भनाइ छ । उहाँले तोकिएको समयभित्रै उपभोक्तालाई पानी खुवाउने प्रयास गर्दागर्दै कोरोना महामारीको विषम परिस्थितिले सफल हुन नसकेको बताउनुभयो ।

आयोजनाका एक हजार ६० लक्षित घरधुरीमध्ये ८०० घरधुरीको धारा जडान कार्य सम्पन्न भइसकेको छ । वितरण पाइपलाइनको केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाले कार्यालय भवन, सार्वजनिक शौचालय, रिजरवायर ट्याङ्की, निर्माण भइसकेको आयोजनाको सुपरभिजन इन्जिनीयर कृष्णबहादुर ऐरले जानकारी दिनुभयो । आयोजनामा विद्युत् जडान, मोटर जडान, फिल्टर जडान र स्काडा जडानको काम बाँकी रहेका छ ।

आयोजना क्षेत्रभित्र समेटिने विपन्न तथा गरीब घरधुरीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ती घरधुरीमा खानेपानी धारा जडान र शौचालय निर्माणको काम पनि भइरहेको बताइएको छ । आयोजनाले तोकेका विपन्न घरधुरीको मापदण्डभित्र पर्ने ५८ घरधुरी शौचालय र ९९ घरधुरी पानीधारा जडानका लागि छनोट भएका थिए ।

छनोट भएका विपन्नमध्ये ५८ घरधुरीको निःशुल्क शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ । निःशुल्क धारा जडानका लागि छनोटमा परेका ९९ मध्ये ६५ घरधुरीको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.