निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिदै

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिदै छ । चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका उच्च अधिकारीले बताए । नेपाल प्रहरीले ३० वैशाखमा भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो ।

५ लाख बढी नयाँ मतदाता थपिएपछि म्यादी प्रहरीको संख्या पनि बढाइएको हो । म्यादी प्रहरी भर्नाका लागि मापदण्ड तयार गरेर हरेक जिल्लाबाट दर्खास्त लिइने प्रहरीले जनाएको छ । असोज ६ गतेबाट म्यादी प्रहरीको भर्ना खुलाउने तयारी प्रहरी प्रधान कार्यालय नक्सालले गरेको छ ।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छनौट समिति बनाइने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव उक्त समितिमा रहनेछन् ।

म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीषा पास गरेर भर्ना हुन पाउनेछन् । म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइन्छ भने तलब र सेवासुविधा प्रहरी जवान सरह हुन्छ ।

नेपाल प्रहरीको दरबन्दी ७९ हजार हो । सुरक्षा कार्यविधि अनुसार मतपेटिकाको सुरक्षामा नेपाल प्रहरीको टोली खटिन्छ, त्यसपछिको घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहन्छन् । मतदान स्थलको सुरक्षाका लागि बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिन्छन् ।

स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

म्यादी प्रहरी भर्नामा स्थानीय निर्वाचनमा खटिएकालाई नै प्राथमिकता दिने प्रहरी जनाएको छ । म्यादी प्रहरी छनौटसम्बन्धी मापदण्ड–२०८९ बनाएर छनौट प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसबाहेक पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिएर भर्ना गरिनेछ । म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

म्यादी प्रहरी भर्नाको तेस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु हुनेछन् । उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ । छिमेकी मुलुकको सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका सुरक्षाकर्मीलाई पनि प्राथमिकता दिइनेछ ।

 


Thali Mobile Pvt.Ltd.