दार्चुला । चिसोका कारण नेपालका बासिन्दा तल्लो भेगमा झरेपछि भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा संरचना निर्माण गर्न थालेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै धमाधम संरचना निर्माण गरेको हो ।
भारतले सीमा नदी महाकाली किनारमा चट्टानी पहाड फोडेर बाटो बनाउन डोजर चलाएपछि ढुंगाले पुरिएर नदी प्रभावित भएको छ । नदीसंगै वारि नेपालतर्फका घोडेटो बाटोहरूसमेत नदीको कटानले भत्कन थालेका छन् । व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले नेपालको अनुमतिबेगर काठेपुल बनाएको छ ।
चिसोका कारण यो समयमा व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा नेपालीको बसोबास कमै हुन्छ। व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् । जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीयले बताए ।
दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो । अहिले पनि हिमपातकैमौका छोपेर भारतले काठेपुल बनाउनुका साथै नेपालको सुरक्षा उपस्थिति नदेखेपछि धमाधम विभिन्न संरचना बनाउन र सीमा अतिक्रमण गरिरहेको स्थानीयले बताएका छन् ।
हिमपात र चिसोका कारण व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको छ। त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।