भर्खरै : Sorry, your browser does not support inline SVG.
युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर |

नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

नेपाल र बङ्गलादेशको महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्दै

काठमाडौँ, । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ । नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन् । गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उहाँ हाल कतारमा उपचाररत हुनुहुन्छ । उहाँले चोटका कारण बङ्गलादेशसितको दुवै मैत्रीपूर्ण खेल खेल्नुहुने छैन ।

नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आउनुभएको छ । उहाँले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बङ्गलादेशसितका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उहाँको भनाइ छ । महिला फुटबलमा नेपाल अहिलेसम्म बङ्गलादेशसँग अपराजित रहेको छ । दुवै टोलीले हालसम्म छ खेल खेलेका छन् । नेपालले सन् २०१० को जनवरीमा बङ्गलादेशका ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा बङ्गलादेशलाई १–० गोलले पराजित गरेको थियो । सो खेलमा नेपालको तर्फबाट जमुना गुरुङले गोल गर्नुभएको थियो ।

यस्तै सन् २०१० को डिसेम्बरमा बङ्गलादेशमै भएको अर्को खेलमा महिला साफ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट जमुना गुरुङले दुई, अनु लामाले एक गोल गर्नुभएको थियो । यसैगरी सन् २०१४ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई १–० गोलले हराएको थियो । नेपालका लागि निर्णायक गोल सजना रानाले गर्नुभएको थियो । सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

उक्त खेलमा निरु थापा, दीपा अधिकारी र अनु लामाले गोल गर्नुभएको थियो । यस्तै सन् २०१८ नोभेम्बरमा म्यानमामा भएको भएको एशियाको महिला ओलम्पिक छनोटको समूह ‘सी’ को खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि निरु थापाले गोल गर्नुभएको थियो । यस्तै सन् २०१९ मार्चमा नेपालको विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले हराएको थियो । उक्त खेलमा सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक–एक गोल गर्नुभएको थियो । नेपालका लागि बङ्गलादेशले एउटा आत्मघाती गोल गर्न पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.