काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी एस २१ सिरिजका स्मार्टफोन लञ्च गरेको छ । ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा गरी तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । सामसुङका अनुसार ग्यालेक्सी एस २१ मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको चिपको प्रयोग गरिएको छ ।
ग्यालेक्सी एस २१ मा स्नापड्रागन ८८८ तथा एक्जीनोस २१०० चिपको प्रयोग भएको छ । ग्यालेक्सी एस २१ मा ट्रिपल क्यामरा सेटअप रहेको छ । ग्यालेक्सी एस २१ दुई मोडेलमा हुनेछ । एउटामा ८ जिबी प्रोसेसर र १२८ जिबीको इन्टर्नल मेमोरी हुनेछ भने अर्कोमा ८ जिबीको प्रोसेसर र २५६ जिबीको इन्टर्नल मेमोरी रहनेछ । त्यस्तै एस २१ प्लस पनि सोही प्रकारले दुई मोडेलमा उपलब्ध रहनेछ । ग्यालेक्सी एस २१ अल्ट्रा चाहिँ १२ जिबीको प्रोसेर र २५६ जिबीको इन्टर्नल मेमोरी तथा १६ जिबीको प्रोसेसर र ५१२ जिबीको इन्टर्नल मेमोरी सहितका दुई मोडेलमा उपलब्ध हुनेछ ।
क्यामराको कुरा गर्दा ग्यालेक्सी एस २१ र एस २१ प्लसमा तीनवटा मुख्य क्यामरा हुनेछन् । प्रमुख क्यामराको रुपमा ६४ मेगापिक्सेलको प्राइमरी टेलिफोटो क्यामरा रहनेछ । त्यस्तै १२ मेगापिक्सेल वाइड एंगल क्यामरा र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड एंगल क्यामेरा रहनेछ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने ग्यालेक्सी एस २१ सँग सामसुङले इयरफोन र चार्जिङ एडाप्टर उपलब्ध गराउने छैन । त्यसैले यदि तपाईंसँग सामसुङको फास्ट चार्जर छैन भने नयाँ किन्नुपर्नेछ । ग्यालेक्सी एस २१ सँगै सामसुङले युएसबी सी केबल उपलब्ध गराउनेछ ।
