बैतडी । गहभरी आँसु चुहाउदै भागरथी भट्टीकी आमाले भनिन्, न्याय मरिसकेको छ भन्न आभाष सरकारले नदेवस, मेरो छोरीले न्याय पाउँछ भन्न आश छ । हत्यारालाई कडाभन्दा कडा कारबाही होस । चडेपानी (बैतडी) घरको आँगनमा बसेर उनले यसो भनिरहदा आजकै दिन हो माओवादीले युद्धको संखघोष गरेको दिन ।
सबैले न्याय पाउने दिन भनेर घोषणा गरेको दिन । युद्ध समाप्त भयो देशमा गणतन्त्र आयो तर देशमा बलात्कारीहरुले अपराध गरिरहदा राज्य चुपलागेर बसिरहेकोले लाग्छ न्याय मरिसकेको छ । भागरथी मात्रै होइन यहाँ निर्मलाहरु, सम्झना विकहरु अझै कति वर्ष सम्म बलात्कारीको शिकार हुने हुन ? यसको जवाफ सरकारले कहिले देला भन्ने अझै टुङ्गो लागेको छैन ।
आँगनको एक छेउमा सेतो पहिरनमा भावविहोल भएकी द्रोपती भट्टले भक्कानिँदै थिइन् । माघ २१ गते बिहान द्रोपतीलाई घरधन्दामा सघाएकी भागरथी अब कहिल्यै नफर्किने भएकी आमा द्रोपतीलाई थाहा छैन । बलात्कारपछि हत्या गरिएको अवस्थामा भागरथी मृत भेटिएको दिन देखि अर्धचेत बन्न पुगेकी आमा द्रोपतीको अवस्था जटिल छ ।
भागरथीको शव माघ २३ गतेदेखि जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ । ५० वर्षीय कृष्णानन्द भट्टको पुस ७ गते धनगढीको सारथि अस्पतालमा निधन भएको महिना नवित्दै यस्तो जघन्य अपराधको घटनाले स्तब्द छ उनको परिवार । स्कुल जान ढिलो भएर बासी रोटी खाएर स्कुल गएकी भागरथी अझै घर फर्किएर आउँछ कि भन्ने झल्को द्रोपतीले आउने गरेको बताउदै भनिन्, ‘मेरी छोरीको हत्यारालाई फाँसीको सजाय देउ सरकार।’
माघ २१ गते ८ बजेतिर घरबाट हिँडेकी भागरथीको बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित लवलेक सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
किन अलमलिदै छ प्रहरी ?
भागरथीको हत्याभएको घटना १० दिन पुगिसक्दा पनि अनुसन्धान गरिरहेको प्रहरी अहिलेसम्म अलमलिनुले आशंका उत्पन्न भएको छ । तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अनुसन्धान धेरै साँघुरिएको दाबी गरेका छन् ।
निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने दाउमा रहेपनि स्थानीयले अझै आशंका गरिरहेका छन् । भागरथीको घटनामा प्रदेशभरिका अनुसन्धानविज्ञ खटिएको उनको भनाई छ ।

