भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने

पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने

सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ । आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिए । उहाँका अनुसार विभिन्न समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने राहतकोष सञ्चालनका लागि निर्माण गरिएको कार्यविधिसमेत सोही बैठकले अनुमोदन गरेको छ ।

पत्रकार महासङ्घको साधारण सदस्य रहेकालाई उक्त कार्यविधिले समेट्ने बताइएको छ। पत्रकार महासङ्घको सदस्य भई कुनै पनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भई अस्पताल लैजानुपरेको अवस्थामा सहयोग गर्नसकिने कार्यविधिमा उल्लेख छ ।

यस्तै अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण मृत्यु भएमा, पत्रकारको परिवार बिरामी भएमा र कुनै आगलागी तथा प्राकृतिक प्रकोपमा परेको अवस्थामा पत्रकारलाई आवश्यक सामग्री खरिद गर्नुपरेमा पनि उक्त कोषबाट सहयोग रकम उपलब्ध गराउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अहिले महासङ्घको नाममा बैंकमा भएको रु एक लाख ११ हजार १११ उक्त कोषमा जम्मा गरिने बताइएको छ । पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनका लागि उक्त कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहयोगका लागि आह्वानसमेत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै जिल्ला शाखाको हालसम्म भवन तथा जग्गासमेत नभएकाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको सचिव दिलबहादुर राईले जानकारी दिए ।

यस्तै पत्रकार महासङ्घको निर्वाचनका बेला मात्रै पत्रकारको खोजी गर्ने र गैरपत्रकारसमेत सदस्य रहन सक्ने भएकाले विवरणसमेत अद्यावधिक गर्ने निर्णय गरिएको छ । पत्रकारितालाई व्यावसायिक बनाउँदै पत्रकारको क्षमता वृद्धिका लागि स्थानीय सरकारसहित अन्य दातृ निकायसँग समन्वय गरिने अध्यक्ष श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.