काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिएको हो ।
बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको हो ।
यो घटनापछि प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका हुन् ।
बैठकमा नक्कली भुटानी शरणार्थी, संक्रमणकालीन न्याय र समसामयिक राजनीतिबारे छलफल भइरहेको बुझिएको छ । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि प्रमुख नेताहरुबीचको भेटघाट बाक्लिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हाइप्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ।
प्रहरीले हिजो मात्रै थप २ जनालाई पक्राउ गरेको थियो। आज पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लिएर आजै जिल्ला अदालत, काठमाडौँ उपस्थित गराएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
हालसम्म पक्राउ पर्नेहरू
१ पूर्वगृहमन्त्री बालकृष्ण खाण
२ पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी
३ सरकारका सचिव टेकनारायण पाण्डे
४ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई
५ नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी
६ सानु भण्डारी
७ सन्देश शर्मा
८ सागर थुलुङ राई
९ केशव दुलाल
१० टंक गुरुङ
११ रामशरण केसी
१२ गोविन्द चौधरी
यही प्रकरणमा मुछिएको पाएपछि पक्राउ पूर्जी जारी हुँदा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनलाई प्रहरीले खोजिरहेको छ।
