काठमाडौं । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजय भएको छ । दुई नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा नेकपा (एमाले) २ र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेलाई सबै तहमा शुन्य पारेर माओवादीले दुई स्थानीय तह हात पारेको छ ।
अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भएका छन् । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको जित भएको छ ।
कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि हात पारेको छ । आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी वशन्ती पाल विजयी भएकी छन् । कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् ।
विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेस चार पालिकामा मात्र विजय भएको थियो । अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडा जितेको छ ।
अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ । त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ । गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ ।
यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो । अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।
भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जितेको छ । यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्को एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।
