काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोक, गल्ली र सडक किनारामा फोहोरले दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।
स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् । सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको अवरोधका बाबजुद एक साताअघि महानगरपालिकाले प्रहरीको सहयोगमा काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन सुरु गरेको थियो । करिब ३ सय प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर उठाउन सुरु गरिए पनि पुनः प्रभावित भएको महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।
महानगरपालिकाले प्रहरीको सहयोग मागेर गत २४ वैशाखदेखि फोहोर उठाउन थालेको थियो । स्थानीयको अवरोधका कारण फोहोरका गाडी रोकिने र खुल्नेको ठेगान हुन छाडेको छ । लामो समयदेखि काठमाडौं उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर थुप्रिदा सहर नै दुर्गन्धित बन्न थालेको छ ।
चिकित्सकहरूले हैजा फैलन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले फोहोरको गाडी जान नदिँदा झन्डै एक महिनादेखि फोहोर उठ्न नसकेको हो ।
स्थानीयले पटकपटक फोहोरका गाडी रोकेर आन्दोलन गर्दै आएका छन् । गत फागुनमा पनि दुई साता फोहोरका गाडी रोकिएका थिए । सरकारी पक्षले तत्काल काम थाल्ने सहमति जनाएपछि स्थानीयले फोहोरका गाडी आवातजावत गर्न दिएका थिए । सडक मर्मतको काम सहमतिअनुसार नभएको भन्दै पुनः स्थानीयले फोहोरका गाडी रोकेका थिए ।
स्थानीयको आन्दोलनका कारण पछिल्लो समय ११ वैशाखदेखि पुनः काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो । काठमाडौंको फोहोर नुवाकोटस्थित सिसडोलसम्ममा विसर्जन गरिँदै आइएको छ । सिसडोल जाने बाटो मर्मतको काम १० वर्षदेखि नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीय आक्रोशित भएका छन् ।
महानगरपालिकाले भने संघीय सरकारले दिएको ठेक्काका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न नसकेको जनाएको छ । २०७० सालदेखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटक सडक अवरोध गर्दा फोहोर विसर्जनमा समस्या आएको महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।
हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो ।
पासाङ ल्हामु राजमार्गमा पर्ने सो सडकखण्ड करिब नौ वर्ष अगाडि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत नौ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ । १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ । तर यसको दिर्घकालिन समस्या समाधान खोज्न जनस्तरबाट गुनासो उठिरहेको छ ।
