भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले “बजारमा बिक्ने जनशक्ति तयार गर्नु भन्दा निःस्वार्थरूपले देश र जनताप्रति समर्पित नागरिक तयार गर्न शिक्षकहरूले ध्यान दिनु पर्ने बताएका छन् । विद्यार्थीको बानी–व्यहोरा र विद्यार्थीमा नागरिक भावनाको विकास गराउन शिक्षक कर्मचारीहरूले मेहनत गर्नु पर्ने औंल्याएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रममा प्रमुख आतिथि समेत रहेका विजुक्छेँले जूममिटिङ्गमा यस्तो बताएका हुन । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने भन्दै शैक्षिक र प्रशासनिक दक्षताको लागि विद्यालय व्यस्थापनले अझ मेहनत गर्नुपर्ने सुझाव समेत दिए । “कम शुल्कमा पढाउँदैमा र संस्था पुरानो हुँदैमा राम्रो हुने होइन, संस्थाको दक्षता राम्रो हुन व्यवस्थापकीय पक्ष राम्रो हुनुपर्छ, अनुशासित हुनुपर्छ”, उनले भने ।
प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन नहुने धारणा राख्दै अध्यक्ष रोहितले बहुसङ्ख्यक जनतामा राजनैतिक संस्कार विकास नभएसम्म आमूल परिवर्तन सम्भव नहुने र आदर्श समाज निर्माणको लागि एक ऐतिहासिक युग लाग्नसक्नेतर्फ सचेत गराए । समाज परिवर्तनमा लाग्नेहरू विचलित नभई इतिहासबाट पाठ सिकी निरन्तर अगाडि बढ्नुपर्ने उनको तर्क छ । इतिहास, भूगोल र राजनीतिशास्त्रजस्तो देशको सार्वभौमिकता र भूअखण्डतासँग सम्बन्धित विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू कम हुँदै जानु चिन्ताको विषय भएको बताए । ती विषयहरूमा छात्रवृत्ति दिएर भएपनि विद्यार्थीलाई आकर्षित गर्नुपर्ने उनको सुझाव छ ।
विश्वविद्यालय, सीटीईभीटीका प्रमुख व्यक्ति र राज्यका प्रमुख प्रशासकहरूमा अझ पनि जातिविरोधी दृष्टिकोण रहेको र त्यस्ता जातिवादी व्यक्तिहरू रहेसम्म विश्वविद्यालयकोे शैक्षिक स्तर नसुध्रिने तर्क गरे । नगर राज्यहरूले विश्वविद्यालय स्थापना गरेको इतिहास रहेको उदाहरण दिदै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालय सञ्चालन गर्न सक्षम भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिनुपर्ने बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् विद्यालय-कलेजसञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कोभिड–१९ को प्रतिकूलताबीच भनपाद्वारा सञ्चालित विद्यालय-कलेजहरूमा नियमित पठन–पाठन हुनु सकारात्मक पक्ष रहेको बताए ।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्य लिई भक्तपुरका जनप्रतिनिधि र स्थानीयवासीले स्थापना गरेको यस विद्यालयको उद्देश्य पूरा गर्न शिक्षक तथा कर्मचारीहरूले निःस्वार्थपूर्वक सहयोग रहेको बताए । “नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूको गुणस्तर राम्रो हुनुमा शिक्षक–कर्मचारीहरूको मेहनत र व्यवस्थापनको सफल नेतृत्व हो । विद्यालय र विद्यार्थीको भविष्य शिक्षकहरूको हातमा रहने हुँदा शिक्षकहरूले अझ मेहनत गर्नु आवश्यक छ,” उनले भने ।
देश सङ्घीयतामा गएपनि शासक पार्टीहरूमा केन्द्रीकृत मानसिकता अझ कायम रहेको भन्दै संविधान तथा कानुनमा स्थानीय निकायको अधिकार क्षेत्र स्पष्ट व्यवस्था भएपनि केन्द्र सरकारले ती अधिकार दिन आनाकानी गर्नु संविधान र कानुनविपरीत भएको प्रमुख प्रजापतिले जिकिर गरे । कार्यक्रममा विद्यालयका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसीलगायतले आआफ्नो धारणा राखेका थिए ।
