भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग

बर्खा लागेपछि कारागारका कैदीबन्दीको बिजोग

महोतरी । झम्केर पानी पर्नासाथ महोत्तरी कारागारका कैदीबन्दीको बिजोग हुने गरेको छ । पछिल्लो दुई दिनदेखि लगातार परेको पानीसँगै कारागार परिसरमा फोहर थुप्रिएर दुर्गन्ध बढेपछि कैदीबन्दीको बिजोग भएको हो । कारागारको कैदीथुनुवाकक्ष, सुरक्षाकक्षसहितको कारागार परिसरमा बर्खाको भेलले ल्याएको दुर्गन्धित फोहर जताततै देखिन्छ ।

जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दीको बिजोग हुने गरेको छ । खासमा कारागार परिसर बर्सेनि गहिरिदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर दुर्गन्धित हुने गरेको कैदीबन्दी बताउँछन् । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ ।

“साँघुरो कारागारमा दुवैतर्फ पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष गरी ५८३ कैदीबन्दी छौँ”, पुरुषकक्षका एक कैदीले भन्नुभयो, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा दुर्गन्धले बिरामी हुने क्रम बढेको छ ।” अहिले सघन वर्षा शुरु भएपछि जाताततै दुर्गन्धित फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदीबन्दी बताउँछन् ।

कारागार परिसरबाहिर अग्ला–अग्ला संरचना घर, सडक बनिँदा बर्सेनि यो ठाउँ झन्झन् गहिरिँदै गएको छ । पानी निकासका लागि स्थानीय प्रशासन जिल्ला प्रशासन कार्यालय र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५८३ जना छन् । साँघुरो ठाउँमा कैदीबन्दी थपिदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको कारागार प्रमुख जेलर गणेश मिश्रको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ठाउँ छैन, कारागार अस्तव्यस्त छ भन्ने गर्छौं”, मिश्रले भन्नुभयो, “न्यायिक निकायले भने दिनहुँ कैदी र थुनुवा पठाउँछन् , हामी के गरौँ रु”

कारागारको पुरुषकक्षमा अहिले ५२३ र महिलाकक्षमा पाँच आश्रित बालबालिका आमासँगै आएका पाँच वर्ष मुनिका बालबालिका सहित ६ जना गरी ५८३ कैदीबन्दी रहेका कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको कारागार प्रमुख मिश्रको भनाइ छ ।

छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदीबन्दीको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदीबन्दी रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको कारागार प्रमुख मिश्र बताउनुहुन्छ । कारागारमा अहिले पनि ६५ प्रतिशत त थुनुवा नै रहेका छन् ।

मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३५ प्रतिशतको हाराहारीमात्र रहेको मिश्रको भनाइ छ । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मत सम्भार पाएको छैन । कैदी–थुनुवाकक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् ।

“हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिलाकक्षकी एक थुनुवाले विरक्तिँदै भन्नुभयो, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।” यसैबीच जिल्लाका सामाजिक सङ्घसंस्था र मानवअधिकारवादी सङ्घसङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

“कारागार यातनागृह नभई सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आउनुभएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भन्नुभयो, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनैपर्छ ।” यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको जनाएको छ । “हामीले कारागारको अवस्था र सुधारका लागि गरिनुपर्ने आवश्यकताबारे सम्बद्ध उपल्लो निकायमा समन्वय गरिरहेका छौँ”, जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले भन्नुभयो, “यसअनुसार क्रमशः व्यवस्थापकीय सुधारका काम पनि हुँदै आएका छन् ।”

 


Thali Mobile Pvt.Ltd.