भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बाढीले भौतिक संरचनामा क्षति पुर्याएपछि कागबेनीमा पठनपाठन बन्द

बाढीले भौतिक संरचनामा क्षति पुर्याएपछि कागबेनीमा पठनपाठन बन्द

म्याग्दी । बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पुर्याएको थियो ।

जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको जानकारी दिए । “भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ”, उनले भने, “आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।”

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् । कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।

“नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्”, उनले भने, “खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।”

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ । “मुस्ताङको उपल्लो भेग जाने सडक धेरै स्थानमा क्षतिग्रस्त हुँदा यातायात अवरुद्ध भएका छन् ।

जोमसोम–कोरोला सडक कम्तीमा तीन ठाउँ यातायात अवरुद्ध छ । तल्लो मुस्ताङको लेते–जोमसोम खण्डको पनि मार्फाखोलामा समय–समयमा यातायात अवरुद्ध हुने गरेको छ”, बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत् प्रजापतिले भने, “तल्लो खण्डको पहिरो हटाएपछि उपल्लो खण्डमा काम सुरु गरेका छौँ ।”

 


Thali Mobile Pvt.Ltd.