भक्तपुर । भक्तपुर अस्पतालमा ३ आइसियु र ५ भेन्टिलेटर संचालनमा आएसंगै सामान्य लक्षण र सिभियर केसका कोरोना संक्रमितको उपचार भैरहेकाे छ । पाँच जना सिभियर केस भएका विरामीलाई खरिपाटीमा उपचार गरिदै आएको र सामान्य लक्षण भएका र १०२ डिग्री ज्वरो आएका विरामीलाई भक्तपुर अस्पतालमा उपचार भैइरहेको डा. सुमित्रा गौतमले जानकारी दिइन् ।
स्वाव संकलन गरी बाहिर पठाउनको समस्या भएकाले मेसिनको टेन्डर प्रकृयामा रहेको बताईन् । अहिले १०८ जना संक्रमितको उपचार भईरहेको जसमध्य पाँच जना सिभियरमा रहेकाे उनको भनाई छ । अस्पतालमा सामान्य लक्षण भएका विरामी धेरै रहेका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको मेसु डा. सुमित्रा गाैतमको भनाई छ। रेम्डिसिभिर औष्धि चलाउन थालिएको बताइन् ।
यसैबीच भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल प्रमुखहरूको बैठक हालै सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागितामा सम्पन्न बैठकमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी अस्पतालहरूले सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए ।
भक्तपुर अस्पतालमा पीसीआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको जानकारी दिदै नगर प्रमुख प्रजापतिले सबै अस्पतालले संकटको समयमा निःस्वार्थ रुपमा जनताको सेवा गर्नुपर्ने बताए । भक्तपुर नगरपालिकामा कोभिड–१९ रोगको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा संक्रमित नगरबासीहरूलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालहरू सहमत भएका छन् ।
बैठकमा भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धिस्मृति अस्पतालका प्रशासक अनिल राजभण्डारी र डा. अखिल ताम्राकार र जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतको सहभागीता रहेको थियो ।
