भक्तपुर । नेपाल मजदुर किासन पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाविरुद्ध पञ्चायती राज्यस्तरको षड्यन्त्र र पञ्चहरुबाट भएको ज्यादतीबारे नयाँ पुस्तालाई जानकारी दिनु पर्ने बताएका हुन । भक्तपुर काण्ड भाद्र ९ को अवसरमा सांसद सुवालले नयाँ पुस्तालाई थाहा दिन र राजनीतिक पूर्वाग्रह राखी दमन गर्ने काम आगामी दिनहरुमा पनि हुन सक्ने विषयमा सचेत पार्न वर्षेनी भक्तपुर काण्डको विरोध र भत्र्सना कार्यक्रमहरु गर्दै आएको बताए । २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदहरुको योगदान स्मरणीय भएको बताउनुहुँदै सांसद सुवालले भक्तपुर काण्डले शत्रु र मित्र चिन्ने अवसर मिलेको बताउनुभयो ।
उहाले दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक पार्टीहरु विभाजित हुन सक्ने खतरा रहेको औंल्याउनुहुँदै अध्यादेश प्रजातन्त्रविपरीत, लोकतन्त्रविपरीत र निरंकुश भएको बताए । राजनीतिक दलले आफ्ना कार्यकर्ताहरुलाई विचार र सिद्धान्तबाट अनुशासित नबनाएसम्म देशमा भ्रष्टाचारको अन्त्य गर्न सम्भव नभएको बताउदै कार्यकर्ताहरुले संकटमा भाग्ने होइन, त्यसको प्रतिरोध गर्ने प्रतिबद्धता लिनु आवश्यक भएको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पूँजीपति वर्ग शासन सत्ता हातमा लिन जस्तोसुकै अनैतिक र कठोर कदम चाल्न पनि पछि नपर्ने बताए ।
सामान्य कुटपिटबाट घाइते भएका व्यक्तिलाई मृत घोषणा गरेर भक्तपुर काण्ड घटाइएको स्मरण गर्दैजहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ’ भनेझैं भक्तपुर काण्डको विरोधमा भएको चर्को प्रतिरोधका कारण देशभरका जनतालाई एउटा नयाँ ऊर्जा दिएको र षड्यन्त्रको सहारामा शासन सत्ता टिकाउन खोज्ने पञ्चहरू आफै समाप्त भएको बताए । कार्यक्रममा भनपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पञ्चायती राज्य आतंकविरुद्धको संघर्षको स्मरण गर्नुहुँदै भक्तपुर काण्डमा नेमकिपाको पक्षमा वकालत गर्ने न्यायप्रेमी जनता, बुद्धिजीवी र सञ्चारमाध्यमहरु धन्यवादका पात्र भएको बताए । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आफ्नो जेल जीवनको अनुभव सुनाउदै भक्तपुर काण्ड नेमकिपाको विचार र सिद्धान्तविरुद्ध रचिएको षड्यन्त्र भएको बताए ।

