भर्खरै : Sorry, your browser does not support inline SVG.

भारत फेरी नाकाबन्दीको तयारीमाः रक्सौल–वीरगञ्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा रोक लगाउँदै

भारत फेरी नाकाबन्दीको तयारीमाः रक्सौल–वीरगञ्ज नाकाबाट कच्चा पदार्थ निर्यातमा रोक लगाउँदै

वीरगञ्ज । भारतले असोज ३० गतेदेखि एकीकृत जाँच चौकी (आईसीपी) प्रयोग गरेर मात्रै सामान आयात गर्न दिने जनाएको छ । भारतीय भन्सार कार्यालयले सूचना निकालेर यस्तो जनाएको हो ।

सूचना निकालेपछि नेपाली आयातकर्ता र व्यवसायी सामान ल्याउन समस्या हुने भन्दै तनावमा रहेका छन् । सडक यातायातको माध्यमबाट हुने व्यापार सहजीकरणका लागि नेपाल र भारत दुबैतर्फ (आईसीपी) सञ्चालनमा छ । तर केही औद्योगिक कच्चा पदार्थ, कार, जीप लगायत साना सवारी साधन र पैदल यात्रुहरुको भने पुरानै वीरगञ्ज–रक्सौल नाकाबाट आवतजावत हुन्छ ।

कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोइला, जिप्सम, स्लेग रक्सौलसम्म रेलमा र त्यसपछि ट्रकबाट वीरगञ्ज–रक्सौल नाका हुँदै नेपाल ल्याउने गरिएको छ । साल्ट ट्रेडिङले नुन र मल पनि यसैगरी ल्याउने गर्दछ । केही मात्रामा पेट्रोलियम पदार्थ पनि मितेरी पुल, शंकराचार्य गेट हुँदै ल्याइन्छ । भारतीय रेलमार्गसँग जोडिएको सिर्सिया सुख्खा बन्दरगाह २०६१ सालदेखि नै सञ्चालनमा छ ।

नेपाल सरकारले उचित विकल्प दिन नसक्दा नेपाली आयातकर्ता र व्यवसायी समस्यामा पर्दै आएका छन् । भारतीय पक्षले कहिले रक्सौल यार्डमा डष्टी कार्गो ढुवानीमा रोक लगाउने त कहिले रक्सौल नाकाबाट समान निर्यात गर्न नदिने भनेर दुःख दिने गरेको व्यापारीहरु बताएका छन् ।

१ जुलाई २०२२ देखि नै रक्सौल ल्याण्ड कष्टम हुँदै सामान निर्यातमा रोक लगाउने सूचना भारतीय पक्षले जारी गरेको थियो । रक्सौल रेल्वे साइडिङमा अनलोड भएका सामान वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुल हुँदै आउने गरेकोमा आईसीपी हुँदै ल्याउन भनिएको थियो ।

नेपालका आयातकर्ता र व्यवसायीहरुले भारतीय पक्षले आवश्यक पूर्वाधार विना एकतर्फी निर्णय लिएको र नाकाबन्दीकाे तयारी गरिएकाे भनेर असन्तुष्टि जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.