भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले करार दरबन्दी काटिदिदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको फिजियोथेरापी सेवा प्रभावित बनेको छ । सेवा प्रभावित हुदा विरामीहरु समस्यामा परेका छन् ।
केन्द्रमा रहेका लाखौ खर्चिएर ल्याएको मेसिन थन्किन पुगेका छन् भने कर्मचारी घर फर्किएका छन् । जसका कारण दैनिक उपचार गर्ने विरामी मर्कामा परेका छन् । सेवा अवरुद्ध भएपछि दैनिक विरामी अस्पताल आउने र सेवा नलिएरै फर्किने गरेका छन् ।
मन्त्रालयसंग दरबन्दी नकाटिदिन अनुरोध गरिरहेको केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले बताए । केन्द्रबाट निःशुल्क रुपमा प्रदान हुँदै आएको फिजियोथेरापि सेवा सूचारु गर्न बिरामीले अनुरोध गरेका छन् ।
गएको आर्थिक वर्षमा मात्रै २ हजारबढी महिला, १ हजारबढी पुरुष गरी कुल ३ हजारबढीले केन्द्रबाट फिजियोथेरापी सेवा लिएको रेकर्डमा छ । ओपीडि र औषधालयबाट कुल २७ हजार ६ सय विरामीले सेवा लिएको केन्द्रले जनाएको छ ।
हाल फिजियोथेरापी सेवा बाहेक केन्द्रले दैनिक १२ सय १४ जनालाई ओपिडी सेवा दिदै आएको छ । बहिरंग, पूर्वकम, अकुपंचर, प्याथोलोजी ल्याब, औषधि वितरण जस्ता सेवा दिदै आएका छ । काभ्रे, रामेछापलगायत जिल्लाका विरामीलेसमेत यस केन्द्रबाट सेवा लिइरहेको केन्द्रको रेकर्ड छ ।
