१६ असार २०७७ पर्वत । महिलाले हलो जोत्नु हुँदैन भन्ने मान्यतालाई तोड्न फलोवास नगरपालिकाकी उपमेयरले हलो जोतेर देखाएकी छन् । महिलाले हलो जोतेपछि अशुभ हुने भन्ने समाजलाई आँखा खोल्न चुनौती दिदै उनले महिला पुरुष बराबर भएकाले हलो जोतेको धारणा राखिन् ।
धान दिवस मनाउन सोमवार पर्वतको फलेवास नगरपालिका वडा नं. ७ चिर्दिखोला स्थित खेतमा उपप्रमुख मञ्जु अधिकारीले मजाले हलगोरु नारेर हलो जोतिरहदा किसानहरु दंग परेका थिए । १७ औं धान दिवसको अवसर पारेर फलेवास नगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा रोपाइ महोत्सव आयोजना गरिएको थियो ।
भौतीक दुरी कायम गर्दै धान रोप्न सहभागिहरुलाई उपप्रमुख अधिकारीले सूझाव समेत दिईन् । समाजको अन्धविश्वास तोड्न महिलाले उत्साह र सहजरुपमा पुरुषले गर्ने काम गरेर देखाउन आग्रह गरिन् । पुरुषले भन्दा महिलाले धेरै काम गर्न सक्छन् भन्ने मान्यतालाई कायम गर्न र महिलाहरु बहुआयामीक हुन्छन् भन्ने उदाहरण प्रस्तुत गर्न महिलालाई अनुरोध गरिन । पुरानो अन्धविश्वास र कुरिती हटाउन महिला अधिसर्नु पर्ने अधिकारीको भनाई छ । महामारीले कृषिक्षेत्रमा असर परेको भन्दै अधिकारीले आधुनिकीकरण र प्रविधिकरणमा जोड दिएर सरकार अघिबढ्नु पर्ने जिकिर गरिन ।
महामारीका कारण बिदेशबाट गाउँ फर्किएका युवाहरूलाई गाउँमै रोजगारी सृजना गर्न कृषि मार्फत जिविकोपार्जन र आयस्रोत बढाउन नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान बल्क अन्तर्गत फलेवास नगरपालिकाको वडा नं. ४, ६, १० मा धान उत्पादन कार्यक्रम जारी रहेको छ । पर्वतमा हालसम्म २० प्रतिशत खेतमा रोपाई सम्पन्न भैसकेको छ ।

