बुटवल । बैंकिङ कसुरमा कालोसूचीमा परेका राजु गुरुङको उम्मेदवारी खारेज भएसँगै सत्तागठबन्धन दलभित्र खैलाबैला मच्चिएको छ। प्रतिनिधि सभातर्फ रुपन्देही २ मा उम्मेदवारी दिएका एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि अब गठबन्धनले कसलाई समर्थन गर्छ भन्ने चासो बढेको हाे ।
स्वतन्त्र उम्मेदवारीको हवला दिँदै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. निकोलस भनिने कमल भुसालको उम्मेदवारी समेत खारेज भएका कारण गठबन्धनले अन्य साना दलबाट उम्मेदवारी दिएकाहरूलाई समर्थन गर्न सक्ने बुझिएकाे छ।
सत्ता गठबन्धन अहिले कानूनी परामर्शमा जुटेकाे छ । गुरुङको उम्मेदवारी खारेज भएपछि अदालत जाने तयारी गठबन्धन रहेकाे एकीकृत समाजवादीका एक नेताले बताए । यद्यपि निर्वाचन आयोगको निर्णय अन्तिम भएकाले अब कानूनी रुपमै उनको उम्मेदवारी खारेज भएको कानूनविद्हरूले बताएका छन् ।
गुरुङको उम्मेदवारी खारेज भएसँगै गठबन्धनले तत्कालका लागि राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उम्मेदवार रुपसिंह थापामध्ये कसलाई समर्थन गर्ने भन्नेमा छलफल गर्न लागेकाे स्राेतले बताएको छ ।
