काठमाडौं । सँस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले श्रद्धाञ्जली सभा गरेको छ । मंसीर दुई गते मंगलबार भएको शर्माको ८९ वर्षको उमेरमा दुखद निधन भएको थियो ।
चार कार्यकाल नेपाल रेडक्रसको अध्यक्ष भई कार्य सम्पन्न गरेका उनले सोही अवधिमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासँघको गर्भनिङ बोर्डमा रही सेवा गरेका थिए । नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष शर्मीला कार्कीले श्रद्धान्जली सभाको अध्यक्षता गर्दै स्व. शर्माको निरन्तर सम्झना हुने गरी नेपाल रेडक्रसले कार्य गर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले सरल स्वभावका शर्मा विश्व रेडक्रसकै एक हस्ती गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै स्वर्गीय शर्माले देखाएको स्वयंसेवी र निष्ठाको बाटोमा संस्थालाई अगाडि बढाउने बताए। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघका अध्यक्ष र महासचिव क्रमशः फ्रान्सेस्को रोक्का तथा जगन चापागाईँ लगायत नेपालका विभिन्न समाजसेवीहरुबाट शोक सन्देश पठाएका थिए ।
श्रद्धाञ्जली सभामा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य द्वय दिपेन्द्र ढकाल र अरुण खनाल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुर्दशन अधिकारी, रेडक्रसको अन्तराष्ट्रिय समिति आइसीआरसीका नेपाल नियोग प्रमुख जेरोम इम्सटेफ, रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइएफआरसीका नेपाल प्रमुख हार्भे गजेउ, नेरेसोका पूर्वउपकार्यकारी निर्देशक इन्द्र वहादुर केसी, मुकेश सिंह लगायतले शर्माको व्यक्तित्वमाथि प्रकाश पारेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
