काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण होबार्ट हुरिकेन्सबाट नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो । होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । सन्दीपले यस अघि बीबीएलको दुई सिजन खेल्दा २० खेलमा २६ विकेट लिएका छन्।
होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए । ‘हामी देखेका छौँ कि सन्दीपले रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्न सक्छन् । इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन् । उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछ,’ उनले भनेका छन् । बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ । यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन् । यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।
