भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

रोल्पाको बडाचौर विमानस्थल खेलमैदानमा परिणत

रोल्पा, । सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ । संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ । विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो ।

विसं २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ । तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताउनुभयो । विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आउनुभएका थापाका अनुसार आफूहरुलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमान स्थलभर बङ्कर खनेका थिए ।

रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् स्थानीयवासी योगेन्द्र जिसीको भनाइ छ । उहाँले भन्नुभयो, “मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सबै नेताले गर्छौं भन्छन् तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।” पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उहाँको गुनासो छ ।

रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने देखिन्छ स्थानीयवासी मिलन रोकाको भनाइ छ । “गाईबाख्रा चराउनुका साथै फुटबल खेलका लागि विमानस्थल प्रयोग हुनु राम्रो होइन, यसको संरक्षणसँगै पुनःसञ्चालनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो । पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ ।

वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन् । रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ । हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन् । अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन् । विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.